हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा ३० प्रतिशतभन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रूपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।
दाना लाग्ने बेलादेखि नै बोटहरू मरेपछिे उत्पादनमा कमी आएको हो । व्यावसायिक रूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान लक्ष्मण चौधरीले १० कट्ठा जग्गामा मुस्किलले एक बोरी मात्रै आलु उत्पादन भएको जानकारी दिए ।
“आलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेका थिए”, उनले भने , “बर्सात् हटेपछि डढुवा लागेपछि सबै आलु बालीमा नोक्सानी भयो ।“बिउ मात्रै पाँच बोरा बारीमा रोपिएकामा त्यो पनि उत्पादन भएको छैन’, उनले भने, ‘गत वर्ष मात्रै ३० क्विन्टल आलु उत्पादन भएको थियो । यस वर्ष एक बोरा आलु पनि उत्पादन भएको छैन ।”
मल, कीटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उनको भनाइ थियो । अर्का किसान पुरन चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको जानकारी दिए । पिपलाडी आलु खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।
यस क्षेत्रका तीन दर्जनभन्दा बढी किसानले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् । गत वर्ष मात्रै यस क्षेत्रका किसानले पहिलो पुस्ताको आलुको बिउ मात्रै सात लाख मूल्य बराबरको बिक्री गरेका थिए । कार्डिनल २०, आइपिवाई आठ ३० र खुमलउज्जल ३० गरी ८० क्विन्टल आलुको पहिलो पुस्ताको बिउ उत्पादन गर्दै आए पनि यस वर्ष आलु खेतीबाट लागत खर्चसमेत उठाउन नपाएको चौधरीले बताए ।
बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको गुनासो गरे ‘आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन’, उनले भने । आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ । सिजनमा बजारमा रु २० प्रतिकिलोका दरले बिक्री हुने आलुको मूल्य रु ३० बढी रहेको छ ।
तरकारी व्यवसायीका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि भारतीय आलुमा निर्भर रहनु परेको छ । भारतीय व्यापारीले मनोमानी रुपमा मूल्य वृद्धि गरी आलु बिक्री गर्दै आएका छन् । यसबाट उपभोक्ता मर्कामा परेका छन् ।
जिल्लाका बेलौरी, पुनर्वास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ । पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागत रुपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालयप्रमुख रामचन्द्र भट्टले जानकारी दिए ा
आलुको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको जनाइएको छ । जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । ती क्षेत्रफलमा उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ ।
उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ । उनका अनुसार प्रतिहेक्टर आलुको उत्पादन १३ मेट्रिक टन रहेको छ । यसैगरी कञ्चनपुरका किसानले डढुवा रोगका कारण गोलभँेडा खेतीमा समेत नोक्सान व्यहोरेका छन् ।
–––