मंसिर ०६, २०८१, बिहीबार
               

टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’

रासस
फागुन १९, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । 

टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरेको हो ।  

बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको उक्त कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा शुरु गरिएको छ । 

टोखाभित्र झोर महाँकाल माध्यमिक विद्यालय मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन् । उक्त सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । 

शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताए ।

“पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउनका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, उनले भने । 

टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख, उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि नगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ को बजेटमा ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

“दैनिक एक विद्यार्थी बराबर रु २५ को खाजा वितरण गर्नलागेका छौँ”, उनले भने । दिवा खाजाका लागि नगरपालिकाले छुटाएको बजेट अपुग भएपछि थप्दै लैजाने गौतमको भनाइ छ । 

टोखा नगरपालिकामा हाल आठ सामुदायिक विद्यालय, ८१ निजी विद्यालय, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि