यहाँको एक विकट गाउँमा परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलनको सुरुआत भएको छ ।
एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने गाउँघरको पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा पैँचो पसल सुरु भएको छ ।
स्थानीय ३० किसानको संयुक्त प्रयासमा बिहीबारदेखि पैँचो पसल सञ्चालनमा ल्याइएको हो ।
पसलमा स्थानीयस्तरमा उत्पादन हुने कृषिउपज किसानसँग लिएर बजारबाट आउने सामान फिर्ता दिइन्छ ।
त्यसबाहेक किसानले आफूले उत्पादन गरेकोबाहेक अरु खाद्यान्न तथा तरकारी आवश्यक परेमा छिमेकीले उत्पादन गरेको सामानसँग साटेर लिनसक्ने व्यवस्था छ ।
किसान आफूले उत्पादन गरेको वस्तु गाउँमा बढी भए बजार पठाउने योजना पनि बनाएका छन् । “यहाँबाट उत्पादन गरेको वस्तु बजार पठाएर त्यही पैसाले उताको सामान ल्याउँछौँ”, आफ्नै पसलका लागि जम्मा बिक्रीको १० प्रतिशत मुनाफा लिने नियम छ ।
बिहादी–२ बर्राचौरस्थित पसलमा अहिले गाउँमा उत्पादित अदुवा, काउली, साग, बन्दा, आलु, धान, मकै, कोदोलगायतका तरकारी तथा खाद्यान्नको कारोवार शुरु गरिएको अध्यक्ष रामप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार पैँचो लेनदेन पुरानो संस्कार हो, तर हामीले यसलाई अहिलेको परिवर्तित समाजसँग जोड्न मात्रै खोजेका हौँ ।” पराजुलीले भने ।
दुई महिनाको तयारीपछि पसल सञ्चालनमा ल्याइएको हो । किसानले अभियानलाई गाउँपालिकाभर विस्तारको योजना बनाएका छन् । सबैको एकमुष्ठ मुनाफा बोनसको रुपमा वर्षमा एकपटक वितरण गर्ने समूहको निर्णय रहेको छ ।
किसानले उत्पादन गरेको हरेक सामानको छुट्टाछुट्टै खाता बनाएर सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।