भक्तपुर । कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले चीनबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको छ । उनीहरूलाई भक्तपुर खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।
आइतबार बिहान स्वदेश फर्काइएका उनीहरू २ सातासम्म त्यहीँ बस्नुपर्ने छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार संक्रमण फैलिएको स्थान छोडेर गएपछि २ सातासम्म अरू मान्छेको संसर्ग भन्दा अलग बस्नुपर्ने छ ।
सोही अनुसार चीनबाट आएका नेपालीहरू स्वदेश फर्किए पनि आफन्तलाई भेट्न पाएका छैनन् । स्वदेश फर्किएकाहरूका आफन्त खरिपाटीस्थित क्वारेन्टाइनमा पुगे पनि स्वास्थ्य सुरक्षाका कारणले भित्र जान मिल्दैन ।
१ सय ७५ जनाको टोलीमा जनकपुरकी रोजिता यादव पनि छिन् । २६ वर्षकी रोजिता ६ वर्ष भयो चीनमा पढ्न गएको । उनी ४ वर्ष अघि एकपटक छोटो समयको लागि घर आएकी थिइन् । त्यसपछि फर्किने अवसर जुरेको थिएन । चीनको हुबेइ प्रान्तमा एमबिबिएस अध्ययन गर्दै थिइन् उनी । अन्तिम सेमेस्टरको अध्ययन गरिरहेकी उनली इन्टर्नसिप पनि गर्दै थिइन् । उनको कोर्स पुरा भएर स्वदेश फर्किने समय केही साता मात्र बाँकी थियो । लगभग पढाइको अन्त्यको समयमा साथीहरूसँग रम्ने र घुम्ने योजना थियो । चिनियाँ नयाँ वर्षको मनाउन लाखौँको वसहानमा चहलपहल थियो ।
यत्तिकैमा उनी अध्ययन गरिरहेको हुबेई सरहमा महामारी फैलियो । अज्ञात रोगले मानसिहरु बिरामी पर्न थाले । केही दिनपछि मानिसहरू मर्न थाले । त्यति बेलासम्म भाइरसले १७ जनाको मृत्यु भइसकेको थियो । पाँच सयभन्दा धेरै सङ्क्रमित भइससेका थिए । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण चीनबाट विश्वका धेरै देशमा फैलियो । त्यसपछि जनवरी २३ मा चीनले वुहान जोड्ने सबै हवाई, सडक र रेलमार्ग बन्द गर्याे । विश्व स्वास्थ्य सङ्कटको केन्द्र वुहानमा सबै ठाउँबाट नाकाबन्दी भयो । वुहानलाई विश्वबाट सम्पर्कविहीन बनाइयो । कोराना भाइरस फैलिएको इपिसेन्टरका रूपमा रहेको वुहानमा रहेका सबैलाई भित्रै थुनियो । सार्वजनिक स्थलमा मास्क लगाउनुपर्छ भन्ने नयाँ नियम त पहिल्यै आएको थियो तर अब भने त्यहाँ रहेका सबैलाई घरभित्रै थुनेर राखियो ।
बाहिर निस्किएमा अरूलाई सर्न सक्ने खतरा थियो । वुहानमा थुप्रै देशका मानिस बस्थे । रोजिता यादव पढ्ने कलेजमा समेत धेरै देशका विद्यार्थी थिए । उनीहरूलाई आआफ्नो देशका सरकारले उद्धार गरी स्वदेश फर्काए । संक्रमण फैलिने डरका कारण स्थानीय आफ्नै घरमा कैद भए । नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने विषयमा नेपालमा पनि चर्चा चल्यो तर प्रयास भएन । उनीहरूलाई चीन सरकारले होस्टलेमै थुनेर राख्यो ।
नेपाली विद्यार्थीको उद्धारको लागि प्रधानमन्त्रीले पटक–पटक बैठकसमेत बोलाए । पर्यटनमन्त्रीले जहाज तयार राखेको समाचारमा आयो । चीनमा रहेको नेपाली दूतावासले प्रक्रिया सुरु गरेको खबर पनि आयो । स्वास्थ्य मन्त्रालयले चीनबाट फर्काएपछि राख्ने क्वारेन्टाइनको खोजी गरिहरेको कुरा पनि सार्वजनिक भए । तर तीन सातासम्म सरकारले यस्तै तयारी मात्र गरिरह्यो । चीनमा बन्धक विद्यार्थीलाई ल्याउने ठोस काम भएन ।
स्वास्थ्य सङ्कटमा गुज्रिएको ठाउँमा जति दिन बित्दै गयो, नेपाली विद्यार्थीहरूको हालत उत्ति नै कष्टकर, दयनीय र मानवीय हुँदै गयो । खानेकुरा त परको कुरा, पिउने पानीको समेतको अभाव हुँदै गयो । खाना र पानी सप्लाई गर्नेहरू समेत थुनिएपछि अरूले खान पाउने कुरै भएन । चीनमा थुनिएका विद्यार्थीले हरेक घण्टाजसो परिवारसँग कुरा गर्थे । कोठामै थुनिएर आत्तिएका उनीहरू परिवारसँग फोनमा रुवाइबाट कुरा सुरु गर्थे र रुवाइमा टुङग्याउथे । सरकारले आफूहरूको उद्धारमा गरेको तयारीबारे जिज्ञासा राख्थे । नेपालबाट परिवारहरू सरकारले तयारी गरिरहेको भन्दै आश्वासन दिएर फकाउँथे ।
परिवारको लामो दबाब र सरकारको चर्को आलोचनापछि झन्डै तीन सातापछि सरकारले उनीहरूको उद्धारको प्रयास गर्र्याे । भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइन बनाइयो । फेब्रुअरी १६ आइतबार बिहान उनीहरूलाई त्यहाँ ल्याइयो ।
ढिलै भए पनि सरकारले उद्धार गरेर ल्याएकी रोजिताले खरिपाटी क्वारेन्टाइनमा आइपुग्ने बित्तिकै फोन गरिन् बहिनी रोशनीलाई । रोशनी काँडाघारी बस्छिन्। दिदी रोजिता घर नआएको चार वर्ष भएको थियो । रोशनीमा पनि दिदीलाई भेट्ने हुटहुटी थियो । दिदीको फोनलगत्तै दिदीलाई भेट्ने चाहनाले उनी मास्कसहितका केही खानदानको सामग्री बोकेर खरिपाटी पुगिन् ।
रोशनी क्वारेन्टाइन सेन्टरमा रहेकी दिदी रोजिताका लागि लगेजमा सामान लिएर बिहान १० बजे पुगिन् । उनले लगेका सामग्री क्वारेन्टाइन सेन्टरमा खटिएका सुरक्षाकर्मीले हेरेर भित्र लगिदिए । तर उनलाई भित्र छिर्न दिइएन । दिदीलाई परैबाट भए पनि देख्न पाइन्छ कि भन्ने आस थियो उनको । दिदी कोरानाको एपिसेन्टर वुहानबाट आएकी हुनाले नजिकै भेट्न नमिल्ने उनलाई पनि थाहा थियो । उनले सोचेकी थिइन् ‘टाढैबाट भए पनि दिदीलाई हेर्छु, हात हल्लाउँदै बढी बहिन...’ भनेर चिच्चाउँछु । तर त्यो अवसर उनले पाइनन् ।
‘हिजो हुबेई विमानस्थलबाट दिदी उड्ने बेलासम्म पनि फोन सम्पर्क भएको थियो । फर्किएलगत्तै उहाँले फोन गर्नुभएको थियो, अहिले टाढै भए पनि देख्न पाउँछु कि, बोलाउन पाउँछु भन्ने लागेको थियो तर पाइनँ,’ रोशनीले भनिन् । हुबेइमा कोरोनाको संक्रमण फैलिएको थाहा पाएपछि घरमा बुवाआमालाई सबैलाई हरेक क्षण दिदीकै चिन्ता भएको उनले सुनाइन् ।
रोशनी अहिले दैनिक बिहान मन्दिर गइरहेकी छिन् । उनी आफ्नी दिदीको रोजिताका लागि मात्र होइन, सबै १ सय ७५ जनामा कुनै रोगको संक्रमण नभइदिए हुन्थ्यो भन्ने प्रार्थना गर्छिन् । साथै चीनमै रहेका ६ जनामा कोरोना संक्रमण नभइदियोस् भन्ने प्रार्थना गरिरहेकी छिन् ।
रोशनी भन्छिन् ‘मेरो गाउँकै दाजु आउने बेलामा अचानक ज्वरो आए, उहाँ आउन पाउनुभएनछ, मैले चीनबाट आउन नपाएकालाई, र यहाँ आएका सबैको लागि प्रार्थना गरिरहेको छु ।’
नेपालमै इन्जनियरिङमा व्याचरर्स सकेकी रोशनी अहिले आफ्नी दिदी रोजिता आएकोमा जति खुसी छिन्, अरू ६ जना स्वदेश आउन नपाउँदा उत्तिकै दुखी छिन् । ‘नेपाल आउन नपाएकाहरू पनि दिदीकै साथी हुनुहुँदो रहेछ, एक जना त हाम्रै जनपुरको दाइ हुनुहुन्छ, दुःख लाग्यो । सबैलाई राम्रो होस् ।’ निराश भावमा उनले भनिन् ।
भित्र सुरक्षाकर्मीहरुले दिदीलाई टाढैबाट भए पनि हेर्न नदिएपछि उनी आफैँले दिदीलाई फोन गरिन् । क्वारेन्टाइनको ब्लक बाहिर केही मान्छेहरू घाम तापिरहेका थिए । त्यही ठाउँमा दीदाीलाई आउन आग्रह गरिन् । आफूले परै सडक छेउ झन्डै एक किलोमिटर परबाट हात हल्लाउने बताइन् । तर त्यतिबेलै दिदी रोजिताको स्वास्थ्य परीक्षण भइरहेको थियो ।
रोशनीले भनिन्, ‘दिदीलाई नजिकबाट हेर्ने मन छ । तर स्वास्थ्य सुरक्षाका लागि अपनाइएको सावधानी मान्नै पर्ने भयो । टाढाबाट समेत हेर्न मिलेन । दुई हप्तापछि दिदीलाई अँगालोमा बाँधेर धीत मरुन्जेल हेर्न पाउने आशा छ ।’