हामीलाई बोकेको थाइलायन एयरको विमानले बैँककको छाती डन मुइएङ इन्टरनेशनल विमानस्थलमा अवतरण गरायो । स्थानीय समय लगभग साँझ साढे ६ भन्दा बढी भैसकेको हुँदो हो । जुलाईका महिना, त्यही पनि बाह्रैमास हल्का गर्मी नै भइरहने थाइल्यान्डमा साँझको समयमा पनि तातो हावा चल्दै थियो । हामी सिधै हानियौँ त्यहाँबाट झन्डै १६८ किलोमिटर पूर्व पटायातर्फ ।
बैँककको फराकिला सडकदेखि साँगुरा गल्लीहरू पर गर्दै पटाया सहर पुग्यौ । रातको करिब ९ बजेको हुँदो हो पटाया पुग्दा । जब त्यहाँ पुगियो चर्का अङ्ग्रेजी तथा हिन्दी सङ्गीतले हृदयको कुनामा बिझायो । काँचको सिसा नाघेर बाहिरै आइपुग्यो रात्रि क्लबको कामुक दृश्य ।
दायाँतर्फ विशाल समुद्र , बायाँतर्फ पटाया सहर खुब लोभलाग्दो देखिन्थ्यो । सहरको झिलिमिली निक्कै पर समुद्रको पानीमा ठोक्किएर समुद्रसमेत जगमगाइरहेको जस्तो देखिन्थ्यो । हिमालको काखमा हुर्किएका हामी नेपालीलाई समुद्री किनार देख्नासाथ बेग्लै ‘एक्साइटमेन्ट’ भयो ।
पटायामा साँझ परे लगतै सुरु हुँदो रहेछ, रङ्गिन रात्रि जीवन । रातभर जग मगाउँदो रहेछ समुद्री किनारको सिङ्गो सहर । ग्राहकको प्रतीक्षामा हुँदा रहेछन्– रेस्टुरेन्ट, बार, डिस्को, मसाज, स्पा, पुल तथा स्नुकर हाउस ।
काठमाडौँबाट बैंककसम्म जम्माजम्मी ३ घण्टाको उडान त्यसपछि २ घण्टाको यात्रापछि पुगिएको पटाया साँच्चै अलौकिक झैँ लाग्यो । केहीबेर अघिसम्म काठमाडौँको भाग दौड र कोलाहल मस्तिष्कमा ताजै थियो । क्षणभरमै रङ्गिन जीवन र समुद्रको उत्तेजित छालमा पुग्दा एक किसिमको आश्चर्य लाग्यो ।
पटायामा साँझ परे लगतै सुरु हुँदो रहेछ, रङ्गिन रात्रि जीवन । रातभर जग मगाउँदो रहेछ समुद्री किनारको सिङ्गो सहर । ग्राहकको प्रतीक्षामा हुँदा रहेछन्– रेस्टुरेन्ट, बार, डिस्को, मसाज, स्पा, पुल तथा स्नुकर हाउस ।
मध्यरातमा बालुवामाथि पर्यटकहरू सामुद्रिक सिरेटोको मजा लुट्नमा व्यस्त देखिन्थे । समुद्र किनारामा शीतलता ताप्दै, हामी पनि केहीबेर बालुवामा पल्टियौँ । मैले आकाशतिर हेरे । लाग्यो चन्द्रमा समुद्रलाई हेरेर टोलाइरहेको छ । सायद लोभिँदो हो चन्द्रमा पनि पटायाको रङ्गिन जीवन, समुद्रको उत्तेजित छालदेखि ।
त्यसअघि अरू केही देश घुमिसकेको भए पनि हाम्रो थाइल्यान्ड घुमाई भने पहिलोपटक थियो । त्यसैले होला पटायाको रात्रि जीवन हेर्न उत्सुकता थियो । समुद्री किनारामा केहीबेर पल्टिएर देखिएका दृश्यहरूको प्रशंसा गर्यौँ । त्यसपछि हामी लम्कियौँ पटायाकै रङ्गिन साँझतर्फ । त्यहाँ रात, रात जस्तो थिएन । सडकमा चहलपहल, सपिङ मलदेखि पसलसम्म उत्तिकै चहलपहल थियो ।
हामी पनि डुल्यौँ ठुला सपिङ मलदेखि फुटपाथे पसलसम्म । सडक किनारामा समेत व्यवस्थित रेस्टुरेन्ट थिए । जहाँ ठेलामा मोटरसाइकल जोडेर बनाइएको ‘ठेले रेस्टुरेन्ट’मा थाई फुड बेच्नेहरू प्रशस्त थिए । उनीहरू थाई खानाका परिकारहरूले पर्यटकलाई स्वागत गर्दै थिए । ट्याक्सी र टाकटुक रिक्सावालाहरू पर्यटकलाई घुमाउन तल्लीन थिए । पर्यटक देख्नै बित्तिकै उनीहरू रात्रि क्लब, बार, मसाज सेन्टरमा लैजाँदा रहेछन् । घुम्न योग्य ठाउँ तथा मनोरञ्जन स्थलमा पर्यटकलाई पुर्याउनु उनीहरूको दिनचर्या रहेछ । पर्यटक भेट्नासाथ उनीहरू ठाउँको विषयमा जानकार गराउँदै भाडादर बताउँथे र पर्यटक लिएर जान्थे ।
सडकपेटी हिँड्दै गर्दा छेवैका क्लब तथा समाज सेन्टरका थाई सुन्दरीहरू आएर मसाज सेन्टरको मेनु हातमा थमाउँथे । पहिलो पटक भएर होला म भने लाजले रातोपिरो हुन्थेँ । मेरा साथी नवराज भने मेनु थमाउन आउने युवतीलाई ‘सवाली खाँ’ भन्दै थाई भाषामा अभिवादन गर्थे । उनी आफ्ना जिज्ञासा समेत राख्थे । हामीलाई कुनै बार्गेनिङ गर्नु थिएन । तर पनि अरूको सवालजवाफको रमिते बन्दै रमाइलो मात्र गर्नु थियो । हामी त्यो ठाउँमा नयाँ भएकाले पनि त्यहाँको बारेमा जान्न उत्सुकता थियो । उनीहरूको व्यवहार बुझ्न मन थियो । त्यसैले मित्र नवराजजीले त्यहाँ भेटिएका केही युवतीसँग गफगाफ गरे । मैले भने बडो उत्सुक र रोचक भएर नियाली मात्र रहेँ ।
बैँसले उन्मत्त ‘तरुनी’हरू पर्यटकलाई ‘कम म्यान’ भन्दै डाकिरहेका थिए । हामी आफ्नै तालमा हिँडिरहेका थियौँ । हिँड्दै गर्दा तीमध्येका केही युवतीहरू तान्नै आए । मलाई आश्चर्य लाग्यो । म त केही बोल्न सकिन । उसैले भनी ‘वन्ली थ्री थाउजेन्ड भाट ओके ?’
सहरतर्फ किनारामा हिँड्दा क्लब, बार डिस्को तथा समाज सेन्टरका ‘वान पिस’ लगाएका थाई युवतीहरू पर्यटकलाई तान्न आउँदा रहेछन् । हामीलाई पनि त्यसै गरी तान्न आए । पटाया सहरको सडक पारी समुद्र किनार छ । जहाँ आकर्षक बगौचाहरू छन् । त्यही सडकपेटीमा हरेक पाँच मिटरको दुरीमा ‘सेक्सी सुन्दरी’का खुला पसल हुँदा रहेछन् । युवतीहरू युवकलाई लोभ्याउन आकर्षक बनेर उभिँदा रहेछन् । त्यो लाइनमा हिँड्नेहरूसँग उनीहरू आफ्नो मोल बताउँदै बार्गेनिङ गरिरहेका देखिन्थे । बैँसले उन्मत्त ‘तरुनी’हरू पर्यटकलाई ‘कम म्यान’ भन्दै डाकिरहेका थिए । हामी आफ्नै तालमा हिँडिरहेका थियौँ । हिँड्दै गर्दा तीमध्येका केही युवतीहरू तान्नै आए । मलाई आश्चर्य लाग्यो । म त केही बोल्न सकिन । उसैले भनी ‘वन्ली थ्री थाउजेन्ड भाट ओके ?’ मसँग उसले अचानक आफ्नो रेट बताउँदा म तीन छक परे । लाजले रातोपिरो त म छदैं थिए । ‘नो–नो आई एम नट इन्ट्रेस्टेड’ भन्दै म कुलेलम ठोकेँ । म लजाउँदै भागेको देखेर मसँगैका साथीहरू गलल्ल हाँसे ।
झन्डै रातैभरि अनेक ठाउँमा घुम्यौँ । अनेक ब्रान्डका मदिराको चुस्की लगाउँदै पटाया सहर नियाल्यौँ । धेरै पिउने आदत त थिएन, त्यहाँको रात्रि जीवनसँग रमाउँदै सहर घुम्दा हामीले त्यसलाई सहारा लिएका थियौँ । बियरमा कम अल्कोहलिक पदार्थ मिसाइएको होला हामीलाई खास्सै छोएन । पिउँदा पिउँदै बिहानको घामको झुल्कोले बियरको क्यानमै पैताला टेकिसकेछ ।
आकाशमा उड्नदेखि समुद्रभित्र डुल्नेसम्म
हाम्रो फिरन्ते टिम बिहान भएपछि मात्रै अघिल्लो रात बुकिङ गरेको होटेलमा पुग्यो । अरूको भने उठ्ने बेला भएको थियो, हामी सुत्न जाँदा । ४– ५ घण्टा आराम गरेपछि हामी पुन घुम्न निस्कियौँ । समुद्री किनारमा अघिल्लो रात त केबल केहीनेर मात्रै सुस्ताएका थियौँ । हामीमा त चाहना पुरै समुद्रमाथि माथि मोटरबोट चढेर राउन्ड लगाउने थियो ।
हामी स्विमिङ कस्टम किनेर समुद्रतर्फ लाग्यौँ । हिमालको काखमा हुर्किएका हामीलाई समुद्र देख्नासाथ बेग्लै ‘एक्साइटमेन्ट’ भयो । हामीले पनि त्यो एक्साइटमेन्ट लुकाइरहन सकेनौँ । जब हामी समुद्री किनारमा पुग्यौँ । पानीको छालसँगै पुलकित भयौँ । समुद्री छालसँगै मस्ती मार्ने अवसरको भरपुर सदुपयोग गर्यौँ । नुनिलो पानीको छालसँगै आफूलाई तरङ्गित बनायौँ ।
हामीले त्यो दिनभर समुद्र र आइसल्यान्डलाई भ्रमण केन्द्र बनायौँ । निकै ठुलो वाटरपार्कमा प्यारासाइलिङ गर्यौ । ठ्याक्कै पोखराको प्याग्लाइडिङकै शैलीमा समुद्र ममाथि आकामा उड्न पाइने रहेछ । तल समुद्रमा मोटरबोटले छातालाई तान्ने र छातामा हामी झुन्डाएपछि निक्कैबेर समुद्रमाथि आकाशमा घुमाउँदो रहेछ । प्यारासाइलिङ गर्दा पटकपटक समुद्रमा चोपलिँदा र आसमा उड्दा निक्कै रमाइलो भयो ।
मोटरबोट चढेर विभिन्न आइल्यान्ड गयौँ । त्यसपछि कुर आइसल्यान्डमा अन्डरवाटरसम्म गरियो । झन्डै आधा घण्टा समुद्रमुनि हिँड्दा छुट्टै संसारमा पुगेजस्तो भयो । ‘टाउकोमा अक्सिजन हेड’ समुद्रमुनि माछा तथा जलचरहरूसँग खेल्दाको आनन्द वर्णन गरी साध्य छैन ।
त्यहाँ भेटिने नेपाली मूलका बर्मेली नागरिकसँग थाइल्यान्डको बारेमा औसत जानकारी लिँदै हामी फर्कियौँ । भौगोलिक बनोटदेखि राजनीतिक प्रणाली, विकासदेखि धर्मसम्मका कुरा साटासाट गर्यौँ । त्यहाँ टुरिजम क्षेत्रमा धेरैजसो बर्माका नेपालीहरू थिए ।
फुकेटमा विशेष रमाइलो
रमाइलो गर्न चाहनेका लागि थाइल्यान्ड ‘स्वर्गको टुक्रा’ । विश्वका पर्यटकीय मुलुकहरूको अग्रपङ्क्तिमा पर्ने थाइल्यान्डको फुकेट र पटाया चर्चित रहेछन् । यी चर्चित नामै धेरैलाई ‘सेक्सी’ लाग्छ । थाइल्यान्ड पुगेपछि जो–कोहीले फुकेट र पटाया जान बिर्सँदैनन् । पटायाभन्दा फुकेट अझ सुन्दर रहेछ । त्यहाँको रात्रि जीवनको जति नै चर्चा गरे पनि कम हुने । विभिन्न आइल्यान्डहरूले थाइल्यान्डलाई रोमान्टिक बनाएको देखियो । तीमध्ये फिफी आइसल्यान्ड, माया बी, मङकी, थाई, जेम्सजस्ता आइल्यान्डहरूले थाइल्यान्डलाई विश्वसामु चिनाएको छ ।
सेक्स खुला मनोरञ्जन
सेक्स टुरिजमलाई कानुनीरुपमै अपनाएको रहेछ थाइल्यान्डले । यौन अन्यत्रजस्तो लुकेर चलाउने व्यवसाय होइन रहेछ त्यहाँ । पटाया क्षेत्रमा हामीले गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डका अध्यक्ष आशाजित अवालेसँग केही जिज्ञासा राख्यौँ । ‘यौन पेसामा लाग्न चाहने महिला वा पुरुष कसैलाई पनि यहाँ राज्यले रोकेको छैन’ २० वर्षदेखि थाइल्यान्डमै बसेर व्यापार गर्दै आएका उनले त्यहाँको यौन व्ययावसायबारे थप प्रस्ट्याए । ‘यहाँ कोठाभित्र थुनेर शारीरिक सम्पर्क गर्ने खालको रेड लाइट एरिया छैन । यहाँको सेक्स पर्यटने बँधुवा छैन खुला छ, सेक्स खुला मनोरञ्जन जस्तै छ,’ अवालेको जानकारीपछि हामीभित्रको गुप्त जिज्ञासा केही बाँकी रहेन ।
हामीले थाइल्यान्डलाई यौन नजरले मात्र हेर्न मिल्दैन । थाइल्यान्डमा पुरुष दर्शक रहने महिला क्लब धेरै छन् । अचम्म त पुरुषका त्यस्ता ‘पौरख’ हेर्ने ह्यान्डसम क्लबहरू पनि देखियो ।
हामीले थाइल्यान्डलाई यौन नजरले मात्र हेर्न मिल्दैन । थाइल्यान्डमा पुरुष दर्शक रहने महिला क्लब धेरै छन् । अचम्म त पुरुषका त्यस्ता ‘पौरख’ हेर्ने ह्यान्डसम क्लबहरू पनि देखियो । जुन क्लबमा पुरुषहरूले यौन सम्बन्धी कला देखाउने रहेछन् । दर्शकचाहिँ महिला हुने रहेछन् ।
यौन पर्यटनबाट छोटो समयमै सजिलै पैसा कमाउने बानी परेका
थाई युवतीहरू धेरै समय लगाएर कम पैसा आउने काम गर्न सितिमिति रुचाउँदैनन् । मसाजदेखि ‘ह्याप्पी इन्डिङ’मा छोटो समयमा धेरै कमाउने काममा धेरै युवती सक्रिय छन् । थाई युवतीको व्यवहार र इमानदारी भने लोभलाग्ने खालको थियो । उनीहरूको संस्कारदेखि आदर सत्कारले धेरैलाई प्रलोभनमा पारेको देखिन्थ्यो । नेपाली जस्तै दुई हात जोडेर नमस्कार शैलीमा अभिवादन गर्ने संस्कार त्यहाँ पनि रहेछ ।
नेपालले सिक्नुपर्ने थाइल्यान्डको लुकेको पाटो
नेपालजस्तै थाइल्यान्ड पनि इतिहासमा कहिल्यै कसैको गुलाम भएन । न त कसैको अधीनमा नै रह्यो । चरम गरिबीबाट माथि उठ्दै दक्षिण पूर्वी एसियाकै विकासशील राष्ट्रमा अग्रपंतिमा आउँछ । बाहिर हल्ला सुनिएजस्तो सेक्स टुरिजमले मात्रै धानेको देश होइन रहेछ थाइल्यान्ड । त्यहाँको आयआर्जनको अर्को पाटो रहेछ कृषि । मुख्य अर्थतन्त्रको स्रोत कृषि रहेछ । थाई सरकारले गाउँका मान्छेलाई आर्थिक रूपमा माथि उकास्न रिमोट एरियामा कृषकलाई प्रशस्त आर्थिक सहुलियत दिएको रहेछ । अनि उनीहरूको उत्पादनको प्रवर्द्धन पनि त्यसै गरी गरेको रहेछ । जापानबाट सुरु भएको ‘एक गाउँ, एक उत्पादन’ आज विश्व प्रख्यात छ । तर सबैभन्दा बढी भने थाइल्यान्डमा प्रयोग भइरहेको रहेछ । कृषि उत्पादन बढ्नुमा सो कार्यक्रमको निक्कै ठुलो हात रहेको त्यहाँका व्यवसायी बताउँछन् । आफूलाई आवश्यक तेल ग्यास जस्ता इन्धन यो देश आफैले उत्खनन तथा प्रशोधन गर्दै आएको छ । कुनै समय थाइल्यान्डले नेपालबाट चामल लैजान्थ्यो । अहिले भने थाइल्यान्डले खाद्यान्न फलफूल विश्वभर निर्यात गर्छ । अहिले थाइल्यान्डबाट खाद्यान्न, लत्ताकपडालगायत धेरै बस्तु नेपाल ल्याउनुपरेको छ ।
नेपाल नदेखेका बर्मेलीको जोगाएको नेपाली संस्कृति
विभिन्न सहरको केही दिनको घुमाइपछि हामी बैंकक फर्कियौँ। ३१ डिग्रीको तातोबाट अनुहार रातो–रातो बनाउँदै चर्चित सपिङ मल एमबिके मार्केटमा छिर्यौँ । मल छिर्नेबितिक्कै एउटा पसलमा पातली ज्यान भएकी युवती कपडा मिलाउँदै थिइन् । उनीछेउ गएर एउटा पाइन्ट देखाउँदै मैले सोधै– ‘हाउ मच बा ?’
मेरो अपेक्षा विपरीत ती युवतीले नेपाली भाषामा जवाफ फर्काइन् । ‘८ सय बा , धेरै पिस लाने भए ६ सय बा सम्ममा आउँछ ।’ उनको नेपाली भाषा सुनेपछि मेरो ध्यान लुगामा भन्दा बढी उनको अनुहारमा खिचियो । नेपाली जस्तै देखिने र नेपाली बोल्ने भए पनि उनी नेपाली भने होइन रहेछिन् । उनी नेपाली मुलकी बर्मेली रहिछन् । उनको नाम राधिका खतिवडा रहेछ । करिब डेढ सय वर्षअघि उनको पुर्खाहरू बर्मा पुगेका रहेछन् । दोस्रो विश्वयुद्धताका धेरै नेपाली बर्मा पुगेका थिए रे । यो कुरा मैले पहिले पनि सुनेको थिए । तीनै नेपाली समुदायको बर्मामा अहिले ठुलो बसोबास छ । भूगोल फरक भए पनि भाषा र अनुहार नेपालीजस्तै रहेछ । त्यहीँबाट छिमेकी देश थाइल्यान्डमा धेरै नेपालीभाषी रोजगारी र व्यवसायको लागि गएका रहेछन् । उनीहरूसँग भेट्दा हामीले नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुसी र देश प्रेमको कुराहरूबारे जिज्ञासा राख्यौँ ।
थाइल्यान्डका अधिकांश सपिङ मलमा काम गर्नेका अनुहार र भाषामा पनि नेपाली सुगन्ध देख्न सकिन्छ । होटेलमा अधिकांश पुरुष बर्मेली नेपाली भाषी भेटिए । सपिङ मलमा भने धेरैजसो महिला नेपाली भाषी थिए । कोही साहूको पसलमा कामदार भएर बसेका रहेछन् । केहीले आफ्नै पसल भएको बताए । सडक, रेस्टुरेन्टदेखि सपिङ मलसम्म पुग्दा धेरै नेपाली भाषी देखेपछि मैले आफू थाइल्यान्डमा छु भन्ने बिर्सेँ । विदेशी भूमिमा नेपाली भाषामा कुरा गर्दाको मज्जा नै अर्कै थियो । सायद त्यहीँ भेटियो नेपालीपन ।
बर्मा र थाइल्यान्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दा रहेछन् । उनीहरूले भने, ‘हाम्रो जन्मभूमि बर्मा, कर्मभूमि थाइल्यान्ड र नेपाल पितृभूमिको हो ।’
जन्मभूमि बर्मा, कर्मभूमि थाइल्यान्ड, पितृभूमि नेपाल
नेपाली भाषी देखेपछि उनीहरूसँग केही बेर गफिन मन लाग्यो । नेपाल नै नदेखेका बर्माका नेपालीहरू नेपाली बोल्ने मात्र होइन, नेपालकै चाडपर्व र संस्कृति मनाउँदा रहेछन् । थाइल्यान्डमा पसलदेखि कृषि फार्म, फ्याक्ट्री र होटेलसम्म धेरै बर्मेली नेपालीले नै काम गर्दा रहेछन् ।
उनीहरूसँग हामीले बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्ना गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? इत्यादि जिज्ञासाहरू राख्यौँ । कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले भाषा र संस्कृतिको संरक्षण गरिरहेको देख्दा निक्कै खुसी लाग्यो ।
उनीहरूले दिएको जानकारी अनुसार करिब ५ लाख नेपाली मूलका मानिसहरू बर्मामा बसोबास गर्दा रहेछन् । उनीहरूले ठुलो प्रयासले नेपाली भाषा संस्कृति जोगिएको छ । उनीहरू दसैँ, तिहार, नयाँ वर्ष जस्ता चाडपर्व पनि नेपालकै जस्तै गरी मनाउँछन् । बर्माबाटै थाइल्यान्डमा पनि एक लाखभन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गर्न आएका छन् । १५ वर्षदेखि ३५ वर्षसम्मका बर्मेली युवाको मुख्य रोजगार गन्तव्य थाइल्यान्ड रहेछ । बर्मा थाइल्यान्डसँग सिमाना जोडिएको देश भएकाले आउजाउ गर्न सजिलो रहेछ ।
नेपालबाट दुई दशकअघि थाइल्यान्ड गएर व्यवसाय गर्दै आएका पुराना पत्रकार आशाजित अवालेले पनि हाम्रो जिज्ञासा मेटाइ दिए । उनले पनि बैंककमा रहेको आफ्नो नेपाली खाना रेस्टुरेन्टमा नेपाली मूलकै बर्मेली नागरिकलाई रोजगारी दिएका रहेछन् । बर्मा र थाइल्यान्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दा रहेछन् । उनीहरूले भने, ‘हाम्रो जन्मभूमि बर्मा, कर्मभूमि थाइल्यान्ड र नेपाल पितृभूमिको हो ।’