न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार, पूर्वैको ढोका खोलेर हेर्दा लागेछ असार
‘असार महिना रोपाइँको महिना । रोपाइँका बाउसे र रोपाहारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी यस्तै असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्छन् ।
असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । ‘खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गुन्जँदा बटुवाहरूसमेत टक्क अडिएर सुनिरहन्थे’ पुराना पुस्ता आफ्ना पालाको असार यसरी स्मरण गर्छन् । तर, अहिलेको पुस्ता न त्यो असार पछ्याउन चाहन्छ न त बुझ्न नै ।
खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै असारे भाका र टुक्का बिरानो बन्दै गएको छ, असार । अर्थात्, मुरी फलाउन मानो रोप्ने समय । किसानहरू रोपाइँमा जुटिसकेका छन् ।
तर, रोपाइँमा उहिलेको जस्तो रौनकता भेटिन्न । अहिले न हलगोरु नारेर हिल्याउँदै गरेका हली भेटिन्छन् न त समाउँदै गरेका बाउसेहरू । रोपाहार र बाउसेहरूले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि देखिँदैन ।
असारे भाकामार्फत माया पिरती टाँसेको पनि सुनिँदैन । खेत जोत्न, सम्म्याउन र रोप्नसमेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता असार १५ को धान दिवसमा सीमित भएको छ ।
खल्लो रोपाइँ युवापुस्ताले चासो नदेखाएपछि असारे गीत लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन् । उहिले रोपाइँमा खेतालाहरूले घुम, छत्री ओढेर असारे गीत गाउँदाको रमाइलो अहिले एकादेशको कथा बन्दै गएको छ । ‘रोपाइँमा असारे गीत गुञ्जन छाड्यो, कुनै उत्साह छैन,’ कृषक भन्छन्, ‘खल्लो असारे रोपाइँ छ ।’
रेडियो नेपालमा लामो समय ‘जदौ’ नामको कार्यक्रम चलाएका वरिष्ठ पत्रकार यज्ञनिधि दाहाल असारे संस्कृतिबारे निक्कै चर्चा गर्थे । जीवनको अन्तिम समयसम्म सक्रिय उनको दुई वर्सअघि निधन भइसकेको छ । त्यसयता रेडियो तथा टेलिभिजनमा असारे भाकाको चर्चा हुनै छाडेको छ । उनै दाहाल यज्ञनिधिले तीन वर्षअघि रेडियो अन्नपूर्णमा कार्यक्रम चलाउँदा स्मरण गरेका थिए ‘उहिले हाम्रो पालामा निकै रमाइलो रोपाइँ हुन्थ्यो, रोपाइँ भएको ठाउँमै गएर असारे भाका रेकर्ड गराएर रेडियोमा बजाउँथ्यौँ ।’ तर अहिले त्यो संस्कृति देखिँदैन र असार लागेको थाहै नपाई रोपाइँ सकिसकेको हुन्छ ।’
आधुनिकतासँगै प्रविधिको विकास र विस्तार सहरदेखि गाउँसम्म फैलिएको छ । असारे भाका गाएर रमाइलो गर्ने संस्कृति लोप हुँदै गएको छ । असारे भाका यति बेला अन्य संस्कृति सरह आधुनिकताको सिकार बनेको छ । पुराना पत्रकार एवं वरिष्ठ कलाकार पद्यप्रसाद पौडेल भन्छन् ‘अहिले टेलिभिजन, रेडियो, मोबाइल र आधुनिक सञ्चारका साधनको बढ्दो चापसँगै असारे भाका कसैले सुन्दैनन् ।’
उमेरले ८४ टेकेका उनी पहिला मनोरञ्जनका साधन नहुँदा असारे भाकामै मान्छे रमाउने तर अहिले प्रविधिका अरू साधनसँग मानिसहरू रमाउन थालेको बताउँछन् ।
असारे भाका रोपाइँमा गाइन छाडेपछि असारे भाकासँगै टुक्का पनि लोप हुँदै गएको नुवाकोटकी मनकुमारी पुडासैनी बताउँछिन् ।
अहिलेको पुस्ता असारे भाका गाउँदा लजाउने र हाँस्ने गरेकोमा उनलाई दुःख लाग्छ । ‘यिनीहरूलाई गाउन सिक न भन्दा उल्टै हाँसेर टारिदिन्छन्,’ धान रोप्नै बिसाएर उनले भनिन्, ‘नयाँ पुस्ताले कसरी जान्दछ र गाउँछ ।’
विवाहपछि भन्दा विवाहअघि माइतीघरमा बाल्यकालमै गाएका असारे भाका उनका मानसपटलमा ताजै छन् ।
साहित्यमा छ, मिडियामा छैन
असारे गीत वर्षको एक महिना (असार) मा मात्र गाइन्छ । रोपाइँमा त गाइन छाड्यो–छाड्यो, हिजोआज रेडियोबाट समेत निक्कै कम महत्त्व पाउने गरेको संस्कृतिविद् मोदनाथ प्रश्रित सुनाउँछन् ।
असारे भाका र टुक्कालाई समयमै संरक्षण गर्नुपर्नेमा उनको जोड छ । ‘असारे गीतले काम गर्दै, थाहै नपाई रोपाइँको समय काट्छ भने पिर मर्का सुनाएर मन हलुका हुन्छ,’ उनले भने, ‘रीतिथितिको जगेर्ना पनि हुने नै भयो ।’
‘केही सांस्कृतिक निबन्धनहरु’ नामका निबन्धमा समेत प्रश्रितले ‘असारे भाका तथा टुक्का’का बारेमा लेखेका छन् । थुप्रै कवि र साहित्यकारले पनि असारलाई आफ्ना काव्यमा उतारेका छन् । संस्कृतका, महाकवि कालिदासले त ‘आषाढकस्य प्रथम दिवस’ भनेर मेघदूतमा रोचक रूपमा प्रस्तुत गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याललगायत थुप्रै साहित्यकारले असारलाई साहित्य सिर्जनाभित्र समेटेको पाइन्छ ।
कृषिमा आधुनिकीकरण भित्रिए पनि संस्कृतिको संरक्षण र संवर्द्धनमा भने राज्य नै जुट्नुपर्ने संस्कृतिविद् प्रश्रितको तर्क छ । ‘नेपाल कृषिप्रधान मुलुक भएकाले अर्थतन्त्र कृषिमै आधारित बनाउनुपर्छ, यसका लागि कृषि उत्पादकत्व बढाउन आधुनिक खेती प्रणाली अपनाउनुपर्छ तर त्यसो भन्दैमा आफ्नो संस्कृतिलाई भने चटक्क भुल्न हुँदैन ।’