रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको छ ।
मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
ट्रिनिटी फर्मास्युटिकल्सको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने बताइएको छ ।
रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले भारतमा पनि एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ । फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति दिएको थियो ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा समेत परीक्षण गरेको दाबी गरेका थिए ।
हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेको छ ।