एजेन्सी । हङकङमा एक घरपालुवा कुकुरलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ ।
कोरोनाभाइरस संक्रमित एक मानिसका कुकुरलाई पनि कोरोनाभाइरस लागेको पाइएको हो ।
मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो ।
‘पोमेरियन’ नामको कुकुर अघिल्लो शुक्रबारदेखि बिरामी भएको थियो । बिरामी भएपछि कुकुरको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीले कुकुरमा ‘न्युन स्तरको संक्रमण’ देखिएको बताएका छन् । अब संक्रमित कुकुरलाई कृषि, माछापालन र संरक्षण विभागमा थप परीक्षणको लागि क्वारेन्टाइनमा राखिनेछ ।
त्यहाँका स्वास्थ्य मन्त्री सोफिया च्यान–चीले पत्रकार सम्मेलनमा मानिसबाट कुकुरमा कोरोना भाइरस सरेको बताइन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले घरपालुवा जनावरको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कुकुर कोरोनाभाइरसबाट सक्रमित भएको पुष्टि गरेको छ । तर संगठनका अनुसार घर पालुवा कुकुरबाट अरुमा संक्रमण भएको प्रमाण भेटिएको छैन ।