एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ ।
सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितको संख्या २६ हजार ९१७ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना संक्रमणबाट ८२६ जनाको मृत्यु भइसकेको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजारभन्दा बढी कोरोना संक्रमित विरामी अस्पतालमा उपचाररत छन् ।
कोरोना भाइरसको अत्यधिक संक्रमकको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।
भारतमा संक्रमण बढदै गएपछि लकडाउन आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।