एजेन्सी । विश्वभर चौतर्फी मृत्यको हल्ला भएपछि उत्तर कोरियाली शक्तिशाली नेता किम जोङ उन शुक्रबार एक कार्यक्रममा रिबन काट्दै सार्वजनिक भएका छन् । अहिले उनी कार्यक्रममा सहभागी भएका तस्बिर विभिन्न मिडियामा भाइरल बनेको छ भने उनकाबारे गलत आशंका गर्नेहरू पनि अचम्मीत भएका छन् ।
नेता किम जोङ गत अप्रिल ११ तारिखदेखि २० दिनसम्म सार्वजनिक रूपमा देखा परेका थिएनन् । उनले अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा आफ्ना हजुरबुबाको जन्म जयन्तीमा समेत सहभागिता जनाएनन् । त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार सार्वजनिक भएका थिए ।
कतिपय समाचारमा उनको मुटुको शल्यक्रियापछि स्वास्थ्य स्थिति गम्भीर बनेको बताइएको थियो । अझ कतिपय सञ्चारमाध्यममा उनको मृत्युसमेत भएको समाचार सार्वजनिक भएको थियो । यस्तो हल्लाकैबीच शुक्रबार उनी एक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।
नेता किम प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्मित एक रसायनिक मल उद्योगको निर्माण समापन समारोहको उद्घाटन गर्दै सार्वजनिक रूपमा देखिएका हुन् । जोङ उन आफ्नी बहिनी किम यो जो र धेरै विशिष्ट अधिकारीसँग थिए भने जब उनी अगाडि आए, कार्यक्रममा उपस्थित सबैले तालीको गडगडाहटले किम जोङको स्वागत गरेका थिए ।