एजेन्सी । अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न इरानले तेहरान तयार रहेको बताएको छ । यस विषयमा कुनै पनि शर्त राख्न नहुने धारणा तेहरानको भएको बुझिएको छ । यसबारे अमेरिकी धारणा भने आएको छैन । ‘तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,’ इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ ।
‘अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,’ उनले भने । इरानले कैदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उनले बताए । ‘वासिङ्टनलाई कैदीबन्दी आदानप्रदानका लागि हाम्रो तत्परताबारे जानकारी भएको छ त्यसैले कुनै मध्यस्थताको आवश्यकता छैन ।’
इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो । उक्त समय नै इरानले समानरूपमा हुने कैदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो । अमेरिकामा जैलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताएका छन् ।
अमेरिकी जेलमा रहेका इरानी नागरिकलाई असल व्यवहार नभएको रबीईले दावी गरेका छन् । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले गत हप्ता सबै कुरा तयारी भएको र उनी छिट्टै इरान फर्किने घोषणा गरका थिए ।
तर उनले यसबारे विस्तृत कुरा गरेका थिएनन् । इरानले अमेरिकी नागरिक साइमक नमाजी, उनका पिता बाकेर र वातावरणविद् मोराद तावेजलाई जासुसी गरेको लगायतका विभिन्न आभियोग लगाई उक्त मुद्दामा दोषी ठहर गर्दै जेलमा राख्दै आएको छ ।