भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् ।
योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
दोस्रो सबैभन्दा प्रभावित राज्य तामिलनाडुमा अहिलेसम्म कोरोना भाइरसका ९८ हजार ३९२ संक्रमित फेला परेका छन् भने एक हजार ३२१ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा पनि कोरोना भाइरसका ९२ हजार १७५ संक्रमित फेला परेका छन् भने दुई हजार ८६४ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म २४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ७३५ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६९९ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा पनि १० हजारभन्दा धेरै संक्रमित भेटिँदा ७७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित डिस्चार्ज भइसकेका छन् ।