कोरोना भाइरस महामारीको कारण भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गरेका हुन् । उनले भनेका छन्, ‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि ।’ तर उनले फरक स्वरुपमा सम्बोधन भने गर्ने बताएका छन् ।
केही रिपब्लिकन डेलिगेट्स भने पुरानो सम्मेलन स्थल नर्थ क्यारोलाइनाको चार्लोटमा भेला हुने छन् । नर्थ क्यारोलाइनाले सामाजिक दूरीका नियम लागु गरेकाले ट्रम्पले सम्मेलनका केही भाग फ्लोरिडामा गर्ने घोषणा गरेका थिए ।
आउँदो अगस्ट २४ मा हुने आधा दिनको कार्यक्रममा रिपब्लिकन पार्टीले ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने औपचारिक घोषणा गर्ने छ ।
चार रात चल्ने सम्मेलन रद्द गर्नुको मुख्य उद्देश्य नै सुरक्षा रहेको ट्रम्पले बिहीबार ह्वाइट हाउस कोरोना भाइरस ब्रिफिङ्गको क्रममा बताएका छन् ।