इजिप्टको एक अदालतले सामाजिक सञ्जालका पाँच प्रभावशाली महिला (टिकटक स्टार) लाई दुई वर्षको जेल सजाय सुनाएको छ ।
सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा उक्त सजाइए सुनाइएको अलजजिराले उल्लेख गरेको छ ।
भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई दुई वर्षको जेल सजय सुनाइएको हो ।
अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना समेत सुनाइएको छ । यो निर्णयविरुद्ध उनीहरुले अपिल भने गर्न पाउनेछन् ।
कायरो विश्वविद्यालयकी होसाममाथि भिडियो एपमार्फत युवतीहरुलाई पुरुषसँग भेट्न र मित्रता गर्न प्रोत्साहित गरेको र यसका लागि उनले रकमसमेत प्राप्त गरेको आरोप लगाइएको छ ।
युवतीहरुलाई आफूसँग काम गरेर पैसा कमाउन सकिने ३ मिनेट लामो भिडियो क्लिप पोष्ट गरेपछि १३ लाख फलोअर्स भएकी होसामलाई गत अप्रिलमा पक्राउ गरिएको थियो ।
त्यस्तै, २० लाख फलोअर्स भएकी अधाममाथि सामाजिक सञ्जलमा आपत्तिजनक फोटो र तस्विर गरेको आरोप लगाइएको छ ।
आफूहरुलाई सुनाइएको सजायविरुद्ध अपिल गर्ने उनीहरुले बताएका छन् ।
चेन्ज डट ओआरजीमा पक्राउ परेका महिलाहरुलाई रिहाइको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । जसमा हालसम्म १५ सयभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।
पछिल्लो समय इजिप्टमा महिला गायिका तथा कलाकारहरुलाई आपत्तिजनिक सामाग्री पोष्ट गरेको आरोपमा पक्राउ गर्न थालिएको छ ।
यसअघि पनि बेली डान्सर सामा अल–मास्रीलाई पक्राउ गरिएको थियो ।