कोरोना भाइरस (कोभिड–१९) का संक्रमित तीव्र गतिमा बढ्न थालेपछि चीनका विज्ञ टोली सोमबार हङकङ आइपुगेका छन् ।
६० स्वास्थ्यकर्मीको टोली हङकङ आउनेछन् । तीमध्ये पहिलो खेपमा ७ जना हङकङ आइपुगेको बीबीसीले जनाएको छ । यिनीहरुले हङकङमा कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउनेछन् ।
मुख्यक्षेत्र चीनले हङकङलाई कोरोना नियन्त्रण गर्न पहिलोपटक सहयोग गर्न लागेको हो ।
कोरोनाको उद्गमस्थल वुहानमा कोरोना भाइरस नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेका ६ विज्ञको टोली पनि हङकङ आउँदै छन् । यिनीहरुले हङकङका अधिकारीहरुसँग मिलेर अनुसन्धान गर्ने जनाइएको छ ।
गतहप्ता मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोना संक्रमित अत्यधिक बढ्न थालेपछि मुख्यक्षेत्र चीनको सहयोग मागेको बताएकी थिइन् ।
लामले कोरोनाको तेस्रो लहरले शहरको स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने चेतावनी पनि दिएकी थिइन् । वुहानका विज्ञहरुसँग युद्धस्तरमा अस्पताल निर्माण गर्ने अनुभव भएको बताइएको छ ।
हङकङमा पनि कोरोनाका अस्थायी अस्पतालहरु निर्माण गरिनेछ । शनिबार मात्र हङकङमा ५ सय शय्याको पहिलो अस्थायी कोरोना अस्पताल खुला गरिएको थियो ।
हङकङमा हालसम्म ३५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये २७ को मृत्युहुँदा १७ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन् ।
केही समय अगाडि संक्रमण शुन्यमा झरेको हङकङको अवस्था यतिबेला गम्भीर चरणमा प्रवेश गरेको छ । पछिल्लो समय हङकङमा दैनिक सयभन्दा बढी कोरोना संक्रमित बन्न थालेका छन् ।
त्यसकारण यहाँ खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ । यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ ।