तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् ।
मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ ।
दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको मृत्यु भएको छ ।
आइतबार ५२ हजार ७ सय ८३ जना संक्रमित थपिदा ७ सय ५८ जनाको मृत्यु भएको थियो । यी दुबै दिन थपिएका संक्रमित र मृत्युदर अमेरिका र ब्राजिलको भन्दा धेरै हो ।
अमेरिकामा २४ घण्टाको अवधीमा ४८ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ६८ जनाको मृत्यु भएको छ । आइतबार अमेरिकामा ४९ हजार ५ सय ६२ जना संक्रमित हुँदा ४ सय ६७ जनाको मृत्यु भएको थियो ।
यस्तै ब्र्राजिलमा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ८८ जना संक्रमित थपिएका छन् भने ५ सय ७२ जनाको मृत्यु भएको छ । आइतबार २४ हजार ८ सय १ संक्रमित हुँदा ५ सय १४ जनाको मृत्यु भएको थियो ।
अमेरिका र ब्राजिल कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएका मुलुक हुन् ।
अमेरिकामा अहिलेसम्म ४७ लाख १२ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५५ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा अहिलेसम्म २७ लाख ३३ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ९४ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।
भारतमा भने १८ लाख ३ हजार ६ सयभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् भने ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।