पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् ।
उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ ।
कश्मीर विवाद
पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत सङ्ग्रह हुनुपर्ने बताउँदै आएका छन् ।
पाकिस्तानको नयाँ नक्सा दिल्लीले कश्मीरलाई दिइरहेको विशेष राजनीतिक र संवैधानिक हैसियत खारेज गरिदिएको पहिलो वार्षिकीको ठीक एक दिन अगाडि जारी गरिएको छ ।
भारत र पाकिस्तान दुवैले उक्त क्षेत्र पूरै आफ्नो दाबी गर्छन् ।
पाकिस्तानको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेका जुनागढ तथा सर क्रिक जस्ता भूभाग पनि समेटिएका छन् ।
गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट-बल्टिस्तान क्षेत्र समेटिएको थियो ।
खानले के भने ?
नयाँ राजनीतिक नक्सा जारी गरेपछि टिप्पणी गर्दै प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको बताएका छन् ।
इमरान खानले भने, 'पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमङ्गको प्रतिनिधित्व गर्छ ।'
भारतले गत वर्ष कश्मीरबारे उठाएको 'गैरकानुनी' कदमलाई सो नक्साले नकार्ने उनले बताए ।
यसबीच भारतको विदेशमन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया व्यक्त गरेको छ ।
उसले त्यसलाई 'हास्यास्पद राजनीतिक अभ्यास' भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता रहेको जनाएको छ ।
-बीबीसी