विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ ।
कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ ।
डब्लुएचओका अनुसार, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ ।’
ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना भाइरस तीव्र गतिमा फैलिएको डब्लुएचओको तर्क छ ।
यद्यपि, विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण स्पेनिस फ्लूको तुलनामा कोरोना महामारी चाँडै नियन्त्रणमा आउने डब्लुएचओको विश्वास छ ।
सन् १९१८ को फेब्रुअरीदेखि १९२० अप्रिलसम्मको दुई वर्षभन्दा बढी अवधि चलेको स्पेनिस फ्लू महामारीबाट विश्वभर करिब २ करोड मानिसको ज्यान गएको थियो ।