एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।
परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको जनाएको हो ।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण र हत्या कसले गरेको हो भन्ने बारेमा खुलिसकेको छैन ।
भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि घटनाको बारेमा थप जानकारी प्राप्त हुने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले जानकारी दिए ।
खरेले आफूहरुले वैज्ञानिक रुपमा घटनाको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।