अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणना भइरहँदा केही शहरहरुमा विरोध प्रदर्शन सुरु भएको छ ।
कुनै स्थानमा डोनाल्ड ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गर्दै प्रदर्शन गरेका छन् भने केही स्थानमा जो बाइडेनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव दिन प्रदर्शन गरेका छन् ।
एरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा रिपब्लिकन पार्टीका समर्थकहरू जम्मा भएका छन् । उनीहरू सोशल मिडियामा त्यहाँ ट्रम्पलाई परेका मतहरू नगनिएको भन्ने दाबीमा विश्वास गरेर जम्मा भएका हुन् ।
प्रहरी बोलाइए पनि गणना भने रोकिएको छैन ।
ओरेगनको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि न्याश्नल गार्डलाई बोलाइएको छ । केही प्रदर्शनकारीहरूले तोडफोड गरेपछि प्रहरी बोलाइएको हो ।
मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका २०० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ। उनीहरू ट्र्म्पविरोधी रहेको बताइएको छ।
न्यूयोर्क, फिलाडेल्फिया र शिकागोमा पनि यस्तै खाले प्रदर्शनहरू भएका छन् ।
डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन् ।
नेभाडामा पनि बिहान पत्रकार सम्मेलनको क्रममा एक प्रदर्शनकारी क्यामराको अगाडि आएर बाइडनले निर्वाचनमा धाँधली गरेको र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए ।