अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन् ।
ट्रम्पले ट्विट गर्दै ‘लडाइँ’ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया) जारी रहेको र जित आफ्नै हुने जिकिर गरे पनि राष्ट्रको ‘सर्वाेत्तम’ हितका लागि बाइडेनको टोलीले अन्तरिम कालको प्रशासन औपचारिक रूपमा सञ्चालन गर्न सक्ने घोषणा गरेका हुन् ।
...fight, and I believe we will prevail! Nevertheless, in the best interest of our Country, I am recommending that Emily and her team do what needs to be done with regard to initial protocols, and have told my team to do the same.
— Donald J. Trump (@realDonaldTrump) November 23, 2020
यही नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार बाइडेनले बहुमत ल्याउँदै विजयी भइसकेका छन् । तर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै पुनः मत गणना तथा छानबिनका लागि अदालतमा मुद्दा हालेका छन् ।
कतिपय राज्यमा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन् भने कतिपय राज्यका न्यायाधीशले ट्रम्पले धाँधलीको आरोप लगाउँदै दिएको उजुरी खारेज गरेका छन् ।
यहीबीच ट्रम्पले लडाइँ जारी रहेको उल्लेख गर्दै बाइडेनलाई अन्तरिक कालको प्रशासन सञ्चालनका लागि भने बाटो खुला गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि यस अघिदेखि नै अन्तरिमक कालको काम सुरु गरिसकेका छन् ।
बाइडेनले आगामी जनवरी २० तारिख राष्ट्रपतिको पद सम्हाल्ने छन्। त्यसअघिकाे अवधिमा उनको अन्तरिम प्रशासनले सरकारको काम थाल्न ठाउँ र कोष पाउनुपर्छ । तर ट्रम्पले आफ्नो हार अस्वीकार गर्दैै असहयोग गरिरहेका थिए ।
बाइडेनले औपचारिक रूपमा सत्ता नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) को हो । जसका प्रमुख एमिली मर्फी हुन् । उनको टोलीलाई बाइडेनको अन्तरिम प्रशासन सञ्चालनमा आवश्यक सहयोग गर्न ट्रम्पले निर्देशन दिएका हुन् ।
मर्फीले नवनिर्वाचित राष्ट्रपति बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम विनियोजन गरेको जानकारी दिएकी छन् ।