अमेरिकामा कोरोना भाइरसको कहर कायमै छ । २० डिसेम्बरसम्मको आँकडाअनुसार पछिल्लो हप्ता कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको ज्यान लिएको छ । केवल ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्युु भयो ।
स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्वसन्ध्यामा भ्रमण नगर्न अपिल गरेपनि यो लागू भएको छैन । शुक्रबार, शनिबार र आइतबार अमेरिकाका विमानस्थलहरुमा ३२ लाखभन्दा धेरै मानिसहरुको चेकजाँच गरिएको छ ।
नयाँ वर्षको विदाका क्रममा यात्रा गर्नेहरुका कारण कोरोना भाइरसको संक्रमण र अस्पतालहरुमा बिरामीको संख्या बढ्ने चिन्ता स्वास्थ अधिकारीहरुलाई छ ।
अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपले प्रयोगको अनुुमति पाइसकेको छ । यद्यपी, तीव्र रुपमा बढेका संक्रमणको घटनाका कारण थप संकट खडा हुनसक्ने अनुमान पनि गरिएको छ । गत हप्ता क्यार्लिफोनिया, रोड आइल्यान्ड, टेनेस्सीलगायत राज्यमा प्रति व्यक्ति संत्रमरण दर बढेको छ ।
अमेरिकाका ५० राज्यमध्ये ३१ राज्यमा संक्रमितको संख्या १० प्रतिशत वा त्यसभन्दा बढी छ । विश्व स्वास्थ संगठनका अनुसार ५ प्रतिशतभन्दा धेरै संक्रमणदर हुनु निकै चिन्ताको विषय हो ।
विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सुचीमा अमेरिका पहिलो स्थानमा छ । यहाँ १ करोड ८६ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।
३ लाख ३० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । १ करोड ९ लाखभन्दा धेरै निको भइसकेका छन् ।