मंसिर ०७, २०८१, शुक्रबार
               

दृढता (कविता)

महेशराज खरेल
फागुन ०७, २०७७

ADVERTISEMENT

बिचार बोकेर हिँड्नेहरू

उद्देश्य छोडेर भाग्दैनन्

बिचार नबोकी लाग्नेहरू

सङ्कटको बेला जाग्दैनन्

तिमी भर नपर तिनको

जस्काे मनमा निष्ठा नहोस्

भरोसा त्यस्काे लिनु

जरो सानै भए पनि ,

पत्थर खोपेर उम्रिएको होस !!

 

आस्था एउटा जीवन पद्धति पनि हो

जीवन जिउने कला पनि हो,

तिमी जाग विश्वासको सग्लो रुख झैँ

सुवासना देऊ निष्ठाको तिमी

फक्रेको सुन्दर गुलाफ झैँ।

 

सत्य बोली,

भरोसायुक्त व्यवहार

सत्मार्गका साथी हुन् तिम्रा,

तिमी सत्य वचन र

भरोसायुक्त बाटो नछोडी हिँड,

बाटो अप्ठेरो हुन सक्छ,

ठाउँ कुठाउँ अँधेरामा ठेस लाग्न सक्छ,

गल्छेँडा बार पर्खालबाट

ज्युँदो अभीष्ट छेक्ने कोसिस हुन सक्छ,

तिमी चेतनाको दियालो बालेर हिँड

मान्यताको प्रकाश छर्दै,

 

दृढतासाथ,

बन्देजहरू हटाए अगि बड,

तिमीलाई सहयोग गर्ने

तिम्रो पदचापलाई पछ्याउने

अनन्य मित्रहरू पाउने छौ,

 

आँट र अठोट,

मार्गका वाहन हुनेछन् तिम्रा,

सारथि मनकाे साथ रहे सम्म

हरेस नखाऊ तिमी

पूर्वको किरणले जन्माउनेछ

नव-चेतनाकाे जागृति,

तिमी त्यसकै सहारामा अगि बड

अविचल बन्नु पर्छ तिम्रो यात्रा,

लक्ष्य अभेद्य छ

आज देशलाई तिम्रो खाँचो छ।

 

२०७७/१०/२७, काेटेश्वर ।

 

साढे तीन दशकदेखि साहित्य लेखनमा सक्रिय कवि खरेलका फुटकर कविता, मुक्तक तथा कथा प्रकाशित छन् ।

कस्तो लाग्यो ?

यो पनि