आस्था रोपेर मनभरि
गुलाफ फुलाउन खोजेँ
चैत्र मासे खडेरीमा पनि
सिँचेर पसिनाले
मनको वारी हिलाम्य बनाएँ
बेमौसमी खेतीमा
मिहिनेत नगर्नु भन्थे मानिसहरू
रगत पसिना यसै खेर जान्छ
फल्दैन अक्करे भीरमा
भरोसाको फल
मैले मानिन
निष्ठा रोपेपछि
जमिनले के गर्छ?
समय मात्रले के गर्छ?
म दिल ओछ्याएर रोप्छु
सञ्जीवनीको बिरुवा
म मनमनैले गोडमेल गर्छु
भरोसाको बोटलाई
कसरी फल्दैन हेर्छु म
धरती त्यस्तो निर्दयी कहाँ हुन्छ र?
मानिसहरू हाँस्थे
मेरो जिरह देखेर
म अभीष्ट बोकेर हिँडेँ
भीर ,पाखा, पहिरो र
खोल्साहरूसित मित लगाउँदै
पसिनाको जल सञ्चित गरेँ
त्यही जल बिरुवामा हालेँ
बोट नहुर्केको होइन
फल नलागेको होइन
तर,
जब समय भयो फल पाक्ने
आस्थाका बोटहरूमा किरा लाग्यो
फलहरू चाउरिन थाले
पहेँलिए पातहरू
सुक्दै थिए डाँठहरू
मेरो मनको बगैँचाभरि
आस्था फलेको देख्ने मेरा सारा सपना
एक्कासि सिसा झैँ
चकनाचुर भएर फुटे
चिटचिटाएर पसिना बगे निधारभरि
श्वास प्रश्वासको वेग
थामी नसक्नु भयो
शरीर कज्याएर
ऐँठनले च्यापिदियो
सकसबाट मुक्ति खोज्यो भावले
मनको नमिठो तन्द्राबाट
म झल्याँस्स ब्युँझिए...।