मंसिर ०७, २०८१, शुक्रबार
               

स्ववियु निर्वाचन अन्योलमा

रासस
फागुन ०१, २०७६

ADVERTISEMENT

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । 

विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको छ । 

   प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी संगठनका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् ।

निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए।
 
त्रिविमा विसं ०६५ यता  क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको  छैन । तीन वर्षअघि विसं ०७३ मा भएको निर्वाचन २ सय ५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।
 
उहाँका अनुसार नेपाल विद्यार्थी संघ (नेविसङ्घ)ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो । 

थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए। त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए। उनले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताउँदै उनले भने, “निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।”

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताएका छन् । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए ।

 त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए। त्रिविले विसं ०७३ देखि निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि