काठमाडौँ । नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाज स्टेसनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ।
चितवनको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो ।
गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद्ले क्रुज आयोजना (पर्या पर्यटन पानी जहाज आयोजना) का लागि सो जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । निजी क्षेत्रबाट नारायणी नदीमा पर्यापर्यटन प्रवद्धन गर्ने लक्ष्यका साथ सानो आकारको पानी जहाज निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
बूर्तिवाङ पहुँदी अमराई तम्घास गोरुसिङ्गे १३२ केभी प्रसारण लाइनतर्फको अर्घाखाँची खण्डको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न अर्घाखाँचीका विभिन्न सामुदायिक वनको कूल ४७ दशमलव ६६० हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिइएको हो ।
त्यस्तै तल्लो लिखु जलविद्युत् आयोजनाको इन्टेक पावर हाउस सर्जसाफ्ट र पेनस्टकलगायत स्थायी संरचना निर्माणका लागि रामेछाप र ओखलढुंगाको राष्ट्रिय वन क्षेत्रको केही जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।
नेपाली सेनालाई श्रीमेहर गणको सुरक्षाजन्य कम्पोजिट लजिस्टिक बेस निर्माणका लागि बाँकेको जिल्लाको साविक रझेना गाविस हाल कोहलपुर नगरपालिका २ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको मयूर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक वनमा रहेका रुख हटाउन स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
यस्तै बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात् भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्चबापत रु दुई लाख लाख ८३ हजार ५८४ उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्काेटाका अनुसार थापाथली इञ्जिनियरिङ अध्ययन संस्थान थापाथलीलाई बिई अटोमोबाइलतर्फ ४८ जना र बिई आर्किटेक्चरतर्फ ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति दिइएको छ ।