सीमा विवादले निम्त्याइदिएको नेपाल र भारतबिचको तिक्तता र त्यससँगै देखिएको संवादहीनता कायम हुँदै गर्दा भारतीय प्रतिनिधिको लगातार नेपाल भ्रमण भइरहेको छ । पछिल्लो एक महिनाको बीचमा भारतबाट तीन वटा महत्त्वपूर्ण भ्रमण भए । भारतीय प्रधानमन्त्रीको ‘विशेष दूत’ बनेर आएका सामन्त गोयलको भ्रमण, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण र भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको भ्रमण भए ।
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलको भ्रमण विवादमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूसँग भारतीय प्रधानमन्त्रीले विशेष दूतको रूपमा पठाएको ब्रिफिङ गरेका थिए । यी तीनवटै भ्रमणको मुख्य सन्देश नै दुई देशबीच देखिएको संवादहीनताको अन्त्य र समझदारी निर्माण गर्नु थियो ।
नेपालमा कोरोनाभाइरस महामारी अझै बढ्दो छ । अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द छन् । तर गोयल, नरवणे र विदेश सचिव श्रृंगलाको लागि नेपाल भ्रमण गर्न ती कुनै कुरा बाधक भएनन् । यसपछि धेरैलाई लागेको छ ‘दुवै देश राजनीतिक तहको संवादको बाटोमा फर्किने वातावरण बन्दै गएको छ । ’
भारतीय विदेश सचिव श्रृगलाको नेपाल भ्रमणको क्रममा बिहीबार नै काठमाडौंमा परराष्ट्र सचिव स्तरमा बैठक भयो । जहाँ दुई देशबीच पछिल्लो समय देखिएका समस्याको बारे छलफल भयो । सचिवस्तरीय संयन्त्रलाई दुई देशका समस्या समाधान गर्ने औपचारिक र स्थायी संयन्त्र मानिँदै आएको छ । राजनीतिक तहमै टुङ्ग्याउनु पर्ने कालापानीको विषय र सीमा विवाद सचिव स्तरीय बैठकबाट नटुङ्गिए पनि औपचारिक संवादको सुरुआतलाई सकारात्मक मान्नुपर्छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि त्यो संवाद अगाडि बढ्ने र निर्णायक अवस्थामा पुग्ने आशामा देखिन्छन् । विहीबार श्रृंगलासंगको सामूहिक तथा एकल छलफलपछि उनले भने ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु, अब नेपाल–भारतबिच छलफलहरूको शृङ्खला अगाडि बढेको छ ।’
नेपाल र भारतबिच लामो समयदेखि कूटनीतिक तहको वार्ता हुन नसकेको अवस्थामा पछिल्ला भ्रमण महत्त्वपूर्ण रहेको जानकारहरूको टिप्पणी छ । भारतीय विदेश सचिवको भ्रमणलाई त अझ कतिपयलाई कूटनीतिक तहको ‘आइस ब्रेक’ भन्दै धेरैले अर्थाएका छन् ।
वार्तामै नबस्ने, सम्पर्क मै नबस्ने भनेर भारतले अर्घेल्याइँ गर्दै आएको बेलामा अहिले त्यो क्रम अन्त्य भएको भारतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेका काँग्रेस नेता दीपकुमार उपाध्याय बताउँछन् । उनी भन्छन् ‘नेपाल–भारत संवादहीनता तोडिएको छ, संवादको क्रम बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।’
नेपाल– भारत सीमा विवाद र त्यसपछिका पछिल्ला घटनाक्रम