२०४६ साल फागुन ७ गते काठमाडौंलगायत देशभरि विशाल आन्दोलन सुरु भयो । काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए । नेकपा माले, नेकपा मार्क्सवादी, नेपाल मजदुर किसान पार्टीलगायतले संयुक्त वाममोर्चा बनाएका थिए । नेकपा मसाल लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए ।
दिनदिनै आन्दोलनकारी बढ्न थाले । आम नागरिक, विद्यार्थी, शिक्षक, पत्रकार, चिकित्सक, वकिल, कर्मचारी लगायत पेसाकर्मी तथा व्यवसायी आन्दोलनमा सरिक भएका थिए ।
जनसहभागिता बढ्दै गएपछि जनआन्दोलनमाथि व्यापक दमन भयो । आन्दोलनमा सहभागी कैयौँ मारिए । कयौँ घाइते बनाइए । सयौँ गिरफ्तार भए । जति दमन हुँदै जान्थ्यो, विद्रोह उति चर्किँदै जान्थ्यो । केन्द्र काठमाडौं भए पनि देशका अन्य सहर आन्दोलनमय भएका थिए ।
चैत २२ गते पाटनको कृष्णमन्दिरमा जनताले प्रहरीलाई नियन्त्रणमा लिई बन्दी बनाए । कतिपय स्थानमा स्थानीय बासिन्दाले बाहिरबाट सुरक्षाकर्मी आउन नसक्ने गरी प्रहरीमुक्त क्षेत्र घोषणा गरेका थिए ।
जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र झुक्न बाध्य भए । चैत २४ गते उनले जनआन्दोलनमा दमनमा उत्रिएको मरीचमान सिंहको मन्त्रिमण्डल विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाए ।
चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आम हडतालको आयोजना गरेको थियो । उक्त बन्द अभूतपूर्व रूपले सफल भएको थियो । दरबारमार्ग अगाडि रहेको राजा महेन्द्रको सालिक चैत २४ गते नै तोडियो । उक्त सालिक फोर्नेमध्ये करिब आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले गोली हानेको थियो ।
राजाले चैत २४ गते राति लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिए जस्तै भयो । र आन्दोलनले झन् ठुलो रूप लिँदै गयो । २५ र २६ गते पनि देशभरआन्दोलन जारी रह्यो । जनआन्दोलन दमन गर्ने राजा वीरेन्द्रमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्दै गयो ।
आन्दोलन थेग्न नसकेपछि राजाले आन्दोलनकारीलाई वार्तामा बोलाए । राजासँग आन्दोलनकारीका तर्फबाट काँग्रेसका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यो संवादले संविधानबाट दलविहीन हटाउने निष्कर्ष निकाल्यो । फलस्वरूप जनआन्दोलनको बलमा ३० बर्से निर्दलीय पञ्चायती शासकले घुँडा टेक्यो ।
अर्को चैत २४
चैत २४ राजनीतिक परिवर्तनका लागि अर्को महत्त्वपूर्ण दिन पनि मानिन्छ । लोकतन्त्र घोषण भएको र गणतन्त्र ल्याउन आन्दोलनको उभार सुरु भएको यही दिन हो । अर्थात् दोस्रो जनआन्दोलनको सुरुवात पनि दलहरूले ०६२ चैत २४ मा नै थालेका थिए ।
त्यसले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्यो । शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्त्वपूर्ण नजिर चैत २४ मै स्थापित भएको थियो । आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेर अघि बढेका राजाविरुद्ध २४ चैत ०६२ बाट काँग्रेस, एमालेसहित ७ राजनीतिक दल र माओवादीले संयुक्त जनआन्दोलन घोषणा गरेका थिए । जनआन्दोलन उत्कर्षमा पुगिरहेका बेला ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र ‘जनताको नासोको रूपमा रहेको राजकीय सत्ता जनतालाई नै फर्काउन’ बाध्य भएका थिए ।
दलहरूले ०६२ चैत २४ मा नै थालेको दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गरेको छ ।
उपलब्धिको विस्मरण
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना, २०६२ मा लोकतन्त्र तथा गणतन्त्र स्थापनको लागि आन्दोलन उत्कर्षमा पुगेको यही दिनको स्मरण हुँदै आएको छ । जनआन्दोलन दिवस विविध कार्यक्रमसहित मनाउने गर्छन् ।
तर जनआन्दोलनमार्फत राजनीतिक परिवर्तन गरेका दल आन्दोलन दिवस कुन दिन मनाउने एकमत हुन सकेका छैनन् । केही दलले २४ चैत र केही दलले २६ चैतलाई जनआन्दोलन दिवस मनाउँदै आएका छन् । ०६२/६३ को दोस्रो जनआन्दोलन थाल्दा पहिलो जनआन्दोलन दिवस कुन दिन मान्नेमा पनि तत्कालीन ७ राजनीतिक दल र माओवादीबिच लामै बहस भएको थियो । ७ दल–माओवादी १२ बुँदे सहमतिपछि संयुक्त आन्दोलन घोषणा भयो । तर कुन दिन गर्ने ठुलो बहस भएको नेताहरु स्मरण गर्छन् ।
माओवादी केन्द्रका एक नेता भन्छन् ‘हमी २४ चैतमा र काँग्रेस/एमाले चैत २६ मा सुरु गर्ने पक्षमा हुनुहुन्थ्यो । ठुलै बहस भयो । पछि २४–२६ हामीले छुट्टै नेपाल बन्द घोषणा गर्यौँ । २६ देखि संयुक्त आन्दोलन सुरु गरेका थियौँ ।’
तत्कालीन वाममोर्चाका तर्फबाट आन्दोलनमा सहभागी हालका नेकपा मालेका महासचिव सिपी मैनाली पनि ४६ सालको आन्दोलनको उभार ल्याउने दिन २६ चैतलाई नै मान्छन् । उनी भन्छन्, ‘चैत २४ गते वाममोर्चाका तर्फबाट हामीले नेपाल बन्द घोषणा गरेका थियौँ । जनताले विद्रोह गरे, ठूलो आन्दोलन यही दिन भयो । परिणामस्वरूप राजा वीरेन्द्रले चैत २६ गते वाममोर्चा र काङ्ग्रेससँग सम्झौता गरेर बहुदलको घोषणा गरेका थिए ।’
त्यसरी सुरु जनआन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धिको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन् । जनआन्दोलनको भावना र मर्म बिर्सँदै गएका दलले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् । ०४६ को जनआन्दोलन मात्र होइन, ०६२/६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो ।
पहिलोले राजाले लादेको पञ्चायती व्यवस्थालाई बहुदलीय व्यवस्थामा रूपान्तरण र राजाको निरङ्कुशता अन्त्य गरेको थियो । राजाले फेरि आफूमा अधिकार केन्द्रित गर्न खोज्दा दोस्रो जनआन्दोलनले २४० वर्षदेखि एकछत्र राज गर्दै आएको राजतन्त्र नै उखेलिदियो ।
यी दुवै जनआन्दोलनलाई जनताको अधिकार प्राप्तिको महत्त्वपूर्ण कोसे ढुङ्गाका रूपमा स्मरण गर्नुपर्ने काँग्रेस नेता प्रकाशमान सिंह बताउँछन् ।
पहिलो जनआन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहका छोरा समेत रहेका उनी भन्छन् ‘नेपालमा जनआन्दोलनले ठूलो उपलब्धि दिएको छ । प्रतिगमन सच्याएर, पञ्चायत फालेर बहुदल जनआन्दोलनले नै ल्यायो । फेरि अर्का पटक जनताले आन्दोलन गरेर राजतन्त्र नै फालेर जनताको युगमा, लोकतन्त्रको युगमा देश फर्काउन सफल भएको छ, यस अर्थमा पनि यसको महत्त्व अझै बढेको छ । जनआन्दोलनमा जनताको योगदान र बलिदान बिर्सन सकिन्न ।’