कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि उपत्यकाबाट लाखौँ बाहिरिएका छन् । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट धेरै सङ्ख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं उपत्यका छाडे ।
काठमाडौं उपत्यका छाडी गाउँ जानेको यात्रुको विषेश गरी गोंगबुस्थित नयाँ बसपार्कमा घुइँचो लाग्यो । यस्तै काठमाडौँको गौशाला, कोटेश्वर, बसपार्क र कलंकी क्षेत्रमा भीड लागेको थियो । उपत्यकाबाट बाहिरिने यात्रु बढेसँगै टिकट काटेका पनि धेरैले बस पाउन सकेका छैनन् । कोरोना संक्रमण, रोकथाम गर्न सरकाले लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी गरेसँगै घरजाने यात्रुको सङ्ख्या बढेको हो ।
कोरोना संक्रमणभन्दा पनि निषेधाज्ञापछि जनजीवन कष्टकर हुने आँकलन गर्दै धेरै मानिस थातथलो फर्किएका हुन् । गत वर्ष सुरुमा एक साताको लागि भन्दै लकडाउन गरिए पनि तीन महिना बढी भयो । धेरै मानिसले खान पाएनन् । हिँडेरै सयौँ कोष परसम्म घर जान बाध्य भए । अहिले पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर धेरैले निषेधाज्ञा हुनु पूर्व नै सहर छाडेका छन् ।
यसअघि अघिल्लो वर्ष लकडाउनअघि कोरोना महामारीमा मानिसहरू ठुलो सङ्ख्यामा बाहिरिएका थिए । लकडाउनका बीच हिँडेरै तथा एम्बुलेन्स पनि धेरै मानिस बाहिरिए ।
त्यसअघि ०७२ साल वैशाख १२ को भूकम्पमा ठुलो सङ्ख्यामा मानिसले काठमाडौं छाडेका थिए । सो समयमा पनि यसरी लाखौँ मानिस काठमाडौं खाल्डोबाट बाहिरिएका थिए । यस्तै, संविधान जारीपछि भारतले नाकाबन्दी लगाउन मानवीय संकट आयो । खाद्यान्न तथा इनधन अभाव भयो । सो समयमा पनि धेरैले अभावको सहर काठमाडौं छाडेर आफ्नै गाउँमा सुखदुख झेल्न गए ।
बर्षेनी ठुला पर्व दसैँ–तिहारमा मानिसहरु काठमाडौं खाल्डो छाडेर बाहिरिन्छन् । तर, त्यो खुसीयालीका निम्ति काठमाडौं रित्तिन्छ । अहिले भने विपतको समयमा काठमाडौँबाट लाखौँ मानिस बाहिरिएका हुन् ।
गत साल कोरोना महामारीको समयमा वा भूकम्पको समयमा विपतमा काठमाडौँले उनीहरूलाई बिदा गरेको हो । यसैले काठमाडौंमा बस्ने धेरै मानिसका दुईवटा ठेगाना हुने गर्छ । एउटा काठमाडौंको अस्थायी ठेगाना अर्को जिल्ला वा गाउँको ठेगाना ।
सुख र दुःखको समयमा हरेक ठुला सहरको नियति यस्तै हुन्छ । देशभरिबाट जीवनका अनेकन् लक्ष्य, चाहना र आवश्यकता पूरा गर्न मानिस काठमाडौं सहरमा अस्थायी बसोबासको लागि आएका छन् । सहरभित्रको दौडादौड, भागाभाग, ठेलमठेलबिच मानिसले जीवन र अस्तित्व खोजेको हुन्छ । यही भीडमा कति मानिस सफल हुन्छन् । अनि कति असफल हुन्छन् । धेरै मानिस टाइमलाइनको कुनै औसत अंकमा बाँचिरहेका हुन्छन् । तथापि कुनै पनि सुखद वा दुःखद समयमा सहर सधैँ रित्तिन्छ ।
यसरी दुईवटा ठेगाना भएका मानिसलाई न खुसीमा न दुःखमा काठमाडौं उपत्यकाको चार भन्ज्याङ छाडेर जानै पर्ने बाध्यता आउँदो रहेछ । दसैँलगायत चाडपर्वमा उल्लासको समयको मुखमा काठमाडौं उपत्यकाबाट बाहिरिँदा मानिसहरू फर्कँदा पनि नयाँ उत्साहका साथ नै फर्कन्छन् । जब अहिलेजस्तो विपतिको हुरीमा जोगिन यहाँबाट फर्किने भने काठमाडौं फगत ‘युज एन्ड थ्रो’ वा काठमाडौँले आफूलाई ‘ युज एन्ड थ्रो’ बनाएको महसुस गर्छन् ।