मंसिर ०७, २०८१, शुक्रबार
               

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

रासस
असार ३०, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।

यस्तै सुदूरपश्चिमको व्यक्ति देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरुले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताए । 

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका तरुण दल, नेपाल विद्यार्थी सङ्घका साथै नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलबार साँझ नै शपथग्रहण गरिसकेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि