प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलगायतका नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति सङ्गठित गर्न थालेको छ । आफूसहित २२ सांसदलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने तयारी गरेपछि नेपालले विभिन्न समानान्तर संरचना गठन गर्न थालेका हुन् ।
नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेपछि भूमिका दिएर आफ्नै समूहमा टिकाउन भन्दै विभिन्न संरचना गठनमा नेपाल पक्ष जुटेको छ । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता तथा सासंदहरु पछिल्लो समय ओली समूहमा ढल्किएपछि छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका ११ सांसदले त नेपाल पक्षको आग्रह नमान्दै मतदान नै बहिस्कार गरे ।
बिस्तारै आफ्नो शक्ति क्षीण हुँदै गएको विश्लेषण गरेका नेपाल पक्षले नेता कार्यकर्ता टिकाउन आफ्नो सङ्गठन रहेको सन्देश लिन चाहन्छन् । यस कारण अहिले छुट्टै पार्टी घोषणा नगरेपछि विभिन्न संरचना गठन गर्न थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध कारबाहीको दायरा बढाउँदै लगेको भन्दै नेपाल समूह ज्यादती सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको हो ।
यसअघि विभिन्न जिल्लामा समानान्तर कमिटी बनाउन थालेको नेपाल पक्षले बिहीबार ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्युँताउँदै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्युँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्युँताउन लागेको हो ।
पीभीको घोषणा आज भक्तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीव राईले जानकारी दिए । त्यसो त नेपाल समूहको अखिलले यूथ फोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।
यसअघि भ्रातृ सङ्गठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा सङ्गठन निर्माण गर्न थालेको छ । नेपाल समूहले यसअघि नै तीन वटा ठुला भ्रातृ सङ्गठन, युवा सङ्घ, अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घमा समानान्तर कमिटी बनाएको छ । युवा सङ्घको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ ।
कहाँबाट सञ्चालित छ नेपाल समूह ?
नयाँ दल घोषणा गर्नुअघि नै सो पक्षले केन्द्रीय कार्यालय भवनको खोजी गरिरहेको छ । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सारेको छ । तर थापाथलीमा अहिले नेपाल पक्ष नेताहरु गएका छैनन् । अव पार्टीमा आफ्नो गुटको छुट्टै संरचना भएपछि नेपाल पक्षले केन्द्रीय कार्यालय समेत काठमाडौंमा राख्ने तयारी गरेको हो ।
आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको नेताहरु बताउँछन् । अहिले भने सो पक्षले नयाँ बानेश्वरस्थित अर्याल होटेलबाटै आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ । आफू पक्षका सांसदको भेलादेखि स्थायी कमिटी बैठक सोही होटेलमा हुँदै आएको छ । आफूले पहिले पार्टी नफुटाउने तर कारबाही गरेपछि मात्रै अलग्गिने भन्दै आएको सो पक्षले दीर्घकालीन अवस्थाको लागि कार्यालयको खोजी गरिरहेको हो ।
नेपाल समूहले ओलीले पार्टीको विधान उल्लङ्घन गरेर आफ्ना गतिविधि गरेको आरोप लगाउँदै आएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा तत्कालीन नेकपालाई पूर्ववत् पार्टीमै फर्काइदिएपछि एमाले ब्युँतेको हो ।
एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग झलनाथ खनाल र नेपाल समूहको छ ।
सोही अनुसार ओलीले केन्द्रीय कमिटीको दशाैं बैठक बोलाए पनि नेपाल पक्ष गएन । उल्टै अर्को दल काँग्रेसका सभापति देउवालाई विश्वासको मत दिएको छ । नेपाल पक्षले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय अमान्य रहेको बताएको थियो ।
ओलीले माग नसुनेपछि गत चैत ४ र ५ गते खनाल–नेपाल समूहले राजधानीमा आफू पक्षका नेताहरूको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । उक्त भेला रोक्न ओलीले खनाल–नेपाल समूहलाई आग्रह गरेका थिए । तर उनीहरूले भेला नरोकेपछि उनले पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । ओलीलाई स्पष्टीकरण दिनुको सट्टा नेताहरूले उल्टै प्रतिप्रश्नसहितको पत्र पठाएका थिए ।
ओलीले चार नेतालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिसकेका थिए । तर पार्टी एकता कायम राख्न भन्दै सो कारबाही पछि फिर्ता लिइएको थियो ।