एजेन्सी । महाकवी कालिदास निकै विद्वान थिए । एक समय उनलाई आफ्नो ज्ञानको खुबै घमण्ड हुन थालेको थियो ।
उनी स्वयं आफूलाई सबैभन्दा बुद्धिमान, सर्वश्रेष्ठ सम्झन थालेका थिए ।
त्यसै समयमा उनी एक यात्रामा निस्किए । यात्राको क्रममा उनलाई निकै प्यास लाग्यो ।
केही समयमा उनी एक गाउँमा पुगे । त्यहाँ उनले एक कुवा देखे । कुवामा एक महिला पानी भरिरहेकी थिइन् ।
कालिदास ती महिला नजिक गए र भने, 'देवी म निकै तिर्खाएको छु, कृपया मलाई पिउनको लागि थोरै पानी दिनुहोस् ।'
ती महिलाले कालिदासतर्फ हेरिन् र भनिन्, 'मैले तपाइँलाई चिनेको छैन, पहिले तपाइँ आफ्नो परिचय दिनुहोस्, अनि मात्र म तपाइँलाई पानी पिउन दिनेछु ।'
कालिदासले आफ्नो ज्ञानको घमण्ड गर्दै आफ्नो नाम भनेनन् । उनले भने, 'म पाहुना हुँ ।'
त्यसपछि उक्त महिला बोलिन्, 'तपाइँले भनेको सही भएन, संसारमा दुई चीज मात्र पाहुना छन्, धन र यौवन ।'
गाउँकी उक्त महिलाको कुरा सुनेर कालिदासलाई तनाव भयो र कालिदासले भने, 'म सहनशील छु ।'
महिलाले भनिन्, 'यो पनि सही जवाफ भएन । यो संसारमा मात्र दुई कुरा सहनशील छ, एउटा 'धर्ती' जसले हाम्रो बोझ उठाउँछ र अर्को 'रुख' जसलाई ढुङ्गाले हिर्काउँदा पनि फल दिन्छ ।'
अब कालिदासलाई लाग्न थाल्यो कि, यी महिला निकै विद्वान छिन् । उनले फेरि भने, 'म हठी छु ।'
महिलाले भनिन्, 'तपाइँ फेरि गलत जवाफ दिँदै हुनुहुन्छ । संसारमा दुई कुरा मात्र हठी छ, एक 'नङ' र अर्को 'कपाल' । पटक-पटक काट्दा पनि यी आफैं बढ्दै आउँछ ।'
महिलाको ज्ञानका कुरा सुनेर कालिदास (महिलाका सामू) हार माने । उनले भने, 'म मुर्ख हुँ, मलाई माफ गर्दिनुस् ।'
त्यसपछि फेरि महिलाले भनिन्, 'तपाइँ मुर्ख होइन । किनकि मुर्ख पनि दुई मात्र छन्, एक 'राजा' जो बिना योग्यता सबैमाथि राज गर्छन् र दोस्रो 'न्यायालय' जो राजालाई खुशी पार्नको लागि गलत कुरामाथि पनि झुटो प्रशंसा गर्छ ।'
महिलाको यो जवाफ सुनेर कालिदास महिलाको पाहुमा चरण स्पर्श गर्न पुगे । उनले फेरि पानी मागे । त्यसपछि महिलाले भनिन्, 'उठ बाबु ।'
कालिदासले जब माथि हेरे तब त्यहाँ सरस्वती उभिएकी थिइन् । सरस्वतीले भनिन्, 'तिमीलाई आफ्नो ज्ञानको घमण्ड थियो । त्यसकारण तिम्रो त्यो घमण्ड मैले तोड्न खोजेकी हुँ ।'
कालिदासले सरस्वती मातासँग माफी मागे । र भने, 'मलाई क्षमा गरिदिनुहोस् सरस्वती माता, अबदेखि म कहिल्यै आफ्नो ज्ञानको घमण्ड गर्ने छैन ।'