‘मनकारी हातबाट राहत भेटियो । तर, राज्य भेटिएन’ १२ दिने सुत्केरी लक्ष्मी साहले राहत स्वरूप केही सामान पाएपछि भावुक हुँदै भनिन् । नामले धनधान्यकी देवी लक्ष्मी भए पनि गरिबीको मारले थिचिएकी उनी सुत्केरी अवस्थामा बिजोग थियो। सुत्केरी अवस्थामै भोकै बस्नुपरेको उनको पीडा र नाबालक शिशुको जीवन रक्षामा समस्या भएको खबर नेपाल फ्ल्यासमा बिहीबार प्रकाशित भएको थियो ।
सोही समाचार पढेका मनकारीहरूले शुक्रबार राहतस्वरूप लक्ष्मीलाई दाल, चामल, घ्यू, तेल, तथा सुत्केरी स्याहारका सामग्री प्रदान गरे । यतिन्जसम्म सरकार नपुगेको आफ्नो दैलामा केही मनकारी व्यक्तिहरू पुगेर सहयोग गरेपछि सुत्केरी लक्ष्मी भावुक बनिन् । जसका कारण सुत्केरी परिवारमा छाक टार्न हम्मेहम्मे भएकाे समस्या दूर भएकाे छ ।
कैलाली घर भएकी लक्ष्मी नरेफाँटमा डेरामा बस्दै आएकी हुन् । लकडाउन घोषणा भएलगतै दाल चामल सकियो । सँगसँगै उनी सुत्केरी पनि भइन । भरपुर पोषक तत्त्व खानुपर्ने बेलामा उनको घरको चुलो निभ्यो । सहारा दिने उनका पति २५ वर्षीय राकेश साह रामेछापमा छन् ।
निर्माण क्षेत्रमा मजदुरी गर्न गएका उनी लकडाउनले उतै बस्न बाध्य छन् । कमाउन गएका श्रीमान् लकडाउनले उतै पसे । यता सुत्केरी लक्ष्मीलाई शिशुको स्याहारमा समस्या भयो ।
यस्तो सङ्कटमा उनका लागि जीवनदान दिन आई पुगे सामाजिक अभियन्ता सुनील केसी । सुनीलको नेतृत्वमा जुटेको राहत सुत्केरी लक्ष्मी र उनको टोल काठमाडौं महानगरपालिका ३२ मा पर्ने नरेफाँटकाका १८ घरपरिवारले पाएका छन् । समाजसेवी सुनील केसीसँगै, उत्तरा श्रेष्ठ, हरिकृष्ण कस्पालले १८ घरपरिवारका लागि खाद्यान्न वितरण गरेका हुन् ।
लकडाउनमा भोकै रहेका मजदुरलाई सुनीलले आफ्नै खर्चमा खाना खुवाउँदै आएका छन् । लामो समयदेखि समाजसेवामा रहेका उनी धेरै सामाजिक संघ संस्थामा आबद्ध छन् । १८ परिवारक लागि राहतमा सहयोग गर्ने उत्तरा कोटेश्वर चोकमा फिटनेससम्बन्धी पसल गर्छिन् ।
त्यस्तै, भक्तपुर कटुन्जेका हरिकृष्ण ग्यास डिलरमा काम गर्छन् । उनीहरूले कहीँकतैबाट पनि सहयोग नलिई व्यक्तिगत रूपमा सहयोग गर्दै १८ परिवारको निभेको चुलो बालेका हुन् । उनीहरूलाई शुक्रबार बिहान स्थानीय नवीन श्रेष्ठ, मंगल घिसिङ, लालकाजी साङबो र रामकुमार श्रेष्ठले पनि सहयोग गरेका थिए । विपन्न वर्गका ती टोलवासीहरू समस्यासँग जुध्न ती उपकारी हातहरू फेला परे ।
लकडाउन घोषणा भए लगतै विपन्न परिवार बस्ने टोल बासी सबैका डेरामा दाल चामल सकिएको थियो । त्यसयता केहीले मागेरै गुजारा चलाए । सबैको घरमा सकिएपछि माग्नेलाई दिने पनि कोही भएन । सबैतिर काम बन्द भएकाले दैनिक ज्याला मजदुरी गरेर खाने उनीहरू सबैलाई खानाको पिरलो भयो । सरकारले दिने राहत उनीहरूको घरमा पुगेन । कमाइ हुँदा आफूहरू पालिएको भए पनि अहिले आम्दानी नहुँदा भोक भोकै रहेको उनीहरूको गुनासो थियो । शुक्रबर राहत पाएपछि सो टोलका सबै खुसी देखिन्थे, उनीहरूले भने ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौँ भन्ने लागेको थियो, उपकारी मान्छेहरू अहिलेको जमानामा पनि भेटिँदा रहेछन् ।’