बाँके । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ ।
शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् ।
विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिबार नेपालगञ्जका सडक सुनसान देखिएका थिए ।
नेपालगञ्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगञ्जवासीको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।
स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यकबाहेकका पसल बन्द गराई आवतजावत बन्द गराएकाले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने उनले बताए ।
नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि समुदायमा त्रास देखिएको उनले बताए ।
‘पहिलेदेखिनै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उनले भने, ‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, मान्छे घरबाट बाहिर निस्किन डराइरहेका छन् । ’
उनले त्रास मात्रै गरेर केही नहुने भएकाले थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी मुसलमान समुदायलाई रमजानको सबै कार्यक्रम घरभित्रै गर्न आग्रह गरिएको बताए ।