मंसिर ०७, २०८१, शुक्रबार
               

कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण

रासस
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गरेको थियो ।

महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानीचालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसीआर परीक्षण गराएकी छन् । उपप्रमुखसहित सबैको परीक्षण नतिजा भने आउन बाँकी छ । 

सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा  सङ्क्रमित व्यक्तिहरु देखिन थालेको बताएका छन् । उनले यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशङ्कित बनाएको छ । यो आशङ्कालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौँ । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौँ ।” भनेका छन् ।

उनले भने, “जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिनोस् । यसले महामारी नियन्त्रणमा सहयोग पुर्‍याउँछ । सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि विजय प्राप्त गर्न सक्छौँ । यसकारण अहिले कोही पनि काठमाडौ‌ं बाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।”

कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५ सय ५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् ।

बजारसँग आश्रित ५ सय जति भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । कामपाले आज बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने जनाएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि