२०७१ फागुन १० :
काठमाडौंको वसन्तपुरमा जीवन विकद्वारा संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार ।
२०७२ फागुन २८ :
दाङ घोराही ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार ।
२०७३ माघ २४ :
धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाद्वारा नवलपरासी गैँडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटामाथि एसिड प्रहार ।
२०७४ असार ४ :
काठमाडौं गोकर्णेश्वर ६ जोरपाटीका साहित्यकार पुण्यप्रसाद प्रसाईमाथि कान्ति बाल अस्पतालका चिकित्सक सुदीप रञ्जित र उनका भाइ नीरज रञ्जितद्वारा एसिड प्रहार ।
२०७४ असार ११ :
महोत्तरी गौशालाका ६५ वर्षीय शीतल देवी महतोमाथि अज्ञात व्यक्तिद्वारा एसिड प्रहार ।
२०७५ वैशाख ८ :
ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाद्वारा कल्पना श्रेष्ठमाथि एसिड प्रहार ।
२०७५ वैशाख २६ :
चितवनको भरतपुरका सुजितकुमार विश्वकर्माद्वारा ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार ।
२०७५ भदौ २६ :
रौतहट चन्द्रपुर की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासलाई छिमेकी रामबाबु पासवानद्वारा एसिड प्रहार ।
२०७५ असोज २ :
अछामको तुर्माखादमा ६ महिनाका बालक मुस्कान बयकलाई अज्ञात व्यक्तिद्वारा एसिड प्रहार ।
२०७५ असोज ८ :
नवलपरासी कावासोतीमा २० वर्षीया बसन्ती परियारलाई ३७ वर्षीय विमल श्रीपालिद्वारा एसिड प्रहार ।
२०७६ जेठ १ :
काठमाडौंको कालोपुलमा २० वर्षीय जेनी खड्कालाई लामो समय अलग अलग बस्दै आएका उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड छ्यापेका थिए ।
२०७६ भदौ २० :
वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई विद्यालय जाने क्रममा एसिड प्रहार ।
२०७६ फागुन १३ :
काठमाडौं बाफल बस्ने २९ वर्षीय शिव रम्तेलद्धारा मदिराको सुरमा श्रीमती र १५ वर्षीया सालीलाई एसिड आक्रमण ।
२०७६ फागुन २५ :
काठमाडौंको बालाजुमा रामराजा श्रेष्ठमाथि एसिड आक्रमण ।
२०७६ फागुन २५ :
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ की ५१ वर्षीया वेदमतीदेवी गुप्तामाथि एसिड प्रहार ।
२०७७ साउन ८ गते :
ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई सीतापालामा एसिड प्रहार ।
एसिड प्रहारका घटनामध्ये २०७१ फागुनको घटना निक्कै चर्चित बन्यो । राजधानीको मुटु वसन्तपुरमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो ।
पछिल्ला ७ वर्षमा देशभर १९ युवतीमाथि एसिड प्रहार भएका छन् । ३ जना पुरुषलाई समेत एसिड आक्रमण गरिएको छ । यस अवधिमा एसिड आक्रमणका जम्माजम्मी २१ घटना भएका छन् । एसिड आक्रमणका प्राय: धेरैजसो घटना प्रेम प्रतिशोधमा बदलिएपछि भएका देखिन्छ । प्रेम प्रस्ताव अस्वीकार गर्दा, विवाह गर्न नमान्दा र असमझदारी बढेपछि प्रेमीले प्रेमिकामाथि एसिड आक्रमण गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ ।
एसिड प्रहारका घटनामध्ये २०७१ फागुनको घटना निक्कै चर्चित बन्यो । राजधानीको मुटु वसन्तपुरमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गर्दा जीवन विकले संगीता मगरलाई एसिड प्रहार गरेका थिए । सो आक्रमणको शिकार सँगै बेन्चमा बसेकी सीमा वस्नेत समेत परेकी थिइन् ।
पछिल्लो एसिड आक्रमणको घटना बिहीबार भएको हो । काठमाडौंको सीतापालामा बिहीबार साँझ ओखलढुङ्गाकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई पनि अर्का युवक मन पराएको भन्दै एसिड छ्यापिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले घटनामा संलग्न दुई जनालाई घटना पक्राउ गर्यो । पक्राउ पर्ने गार्मेन्ट उद्योग सञ्चालक रौतहट घर भई डल्लु बस्दै आएका मोहम्मद आलम र उनका कर्मचारी भारतीय नागरिक मुन्ना मोहम्मद छन् ।
प्रारम्भिक अनुसन्धानमा एसिड प्रहार गर्नुको कारण आलमको प्रस्ताव पवित्रा कार्कीले अस्वीकार गर्नु भएको खुलेको छ । स्मरणीय विषय चाहिँ के छ भने आलम विवाहित व्यक्ति हुन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो घटना चाहिँ विवाह नै गर्ने नियतभन्दा पनि शारीरिक सम्बन्ध राख्ने चाहनाले उनी नजिकिएको जस्तो देखिन्छ ।’ कार्कीले भने उनलाई तीन महिना अघिबाटै फेसबुकमा ब्लक गरेकी थिइन् । यद्यपि, आलमले पछ्याउन छाडेका थिएनन् ।
वर्षदिन यता मात्र काठमाडौंको कीर्तिपुर अस्पतालमा ७ जना बढी एसिडको पोलाइमा परेर उपचार गर्न आएका छन् । त्यसमध्ये पुरुष समेत छन् । अधिकांशलाई प्रतिशोधपूर्वक आक्रमण भएका हुन् । आफ्नै गल्तीले एसिडको शिकार भएको घटना निक्कै कम छन् ।
एसिड शरीरमा परेमा छाला आगोले पोलेको जस्तै गरी बिग्रन्छ । जुन कहिल्यै पहिलेको स्वरुपमा ल्याउन निकै कठिन हुन्छ । यसैले अपराधीले प्रतिसोध साध्न एसिड रोज्ने गरेको पाइन्छ ।
आक्रमणकारीको रोजाइमा एसिड नै किन ?
एसिड एक किसिमको तरल पदार्थ हो । यो शरीरमा परेमा छाला आगोले पोलेको जस्तै गरी बिग्रन्छ । जुन कहिल्यै पहिलेको स्वरुपमा ल्याउन निकै कठिन हुन्छ । आँखा नदेख्ने, शरीर लुलो हुने, दाग देखिने भएकाले अपराधीले प्रतिसोध साध्न एसिड रोज्ने गरेको पाइएको छ ।
कमजोर कानूनको फाइदा उठाउँदै आक्रमणकारी
एसिड आक्रमण बढेपछि बङ्गलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानून ल्याएको छ । एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गरिएको छ । तर, नेपालमा एसिड बिक्री वितरण सहज हुने भएकाले अपराधीले प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा पनि बङ्गलादेशको जस्तै नीति ल्याउनुपर्ने विज्ञहरू बताउँछन् ।
बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्री वितरणमा कडाइ गर्न कानूनको आवश्यकता भएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापा बताउँछन् । उनी भन्छन् ‘कमजोर कानून र एसिड सजिलै पाइने भएकाले अपराध बढिरहेको छ । यसलाई नियन्त्रण गर्न कानून नै कडा बनाइनुपर्छ । आजीवन कारावास वा जन्मकैद वा कारावासबाट छुटेपछि राज्यबाट दिइने निश्चित सेवा सुविधाबाट वञ्चित जस्ता विषय कानूनमै समेटिनुपर्छ ।’
घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छ , सेलाउछ । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ ।
कमजोर कानूनले एसिड प्रतिशोध साध्ने हतियार
घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छ, सेलाउछ । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । नेपालमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्न पाउँदा दुरुपयोग भएको देखिन्छ । सहज उपलब्धताले पीडकहरूले हात पारेर आवेशमा एसिड प्रहारका घटना भइरहेका छन् ।
नेपालमा एसिड आक्रमण निरुत्साहित गर्न कानून बनाइएको छ । मुलुकी अपराध संहितामा एसिड प्रहारलाई गम्भीर अपराधको रुपमा लिइएको छ । अनुहार कुरूप पारे ५ वर्ष देखि ८ वर्ष कैदको सजाय हुने उल्लेख छ । १ देखि ५ लाखसम्म जरिवाना समेत व्यवस्था गरिएको छ । त्यस्तै शरीरको अन्य भाग कुरूप बनाए वा शरीरमा पीडा गराएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजार देखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
घातक मानिएका हाइड्रोक्लोरिक र सल्फ्युरिक एसिडको बिक्री वितरणलाई नियमन गरी कडाइ गर्न २०७६ साउन २६ मा सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको थियो । सल्फ्युरिक एसिड हार्डवेयरमा र नाइट्रिक एसिड सुन पसलमा सजिलै पाइन्छ । केही घटनामा पीडकले तिनै पसलबाट एसिड किनेको देखिन्छ । बारम्बार घटना हुँदै आए पनि सरकारले एसिडको बिक्री वितरणलाई नियमन गर्न नसकेको घटनाहरूको अध्ययनबाट थाहा हुन्छ ।
गएको फागुन ८ मा एमनेस्टी इन्टरनेसनल नेपालले खुलेआम एसिड बिक्री वितरणलाई रोक्नुपर्ने माग गर्दै ३३ हजार हस्ताक्षर संकलन गरेर गृह मन्त्रालयलाई बुझाएको छ। तर कानून संशोधन गर्नुपर्ने बहस र प्रक्रिया भने अघि बढेको देखिँदैन ।