भनिन्छ, जहाँ गहिरो, त्यहीँ पहिरो । प्रकृतिको न्याय प्राकृतिक सिद्धान्तअनुसार बराबरी हुन्छ भन्ने मान्यता थियो । तर, प्रकृतिले पनि प्राकृतिक धरातलमा बसेर बराबरी न्याय नगर्दो रहेछ गर्दैन रहेछ । प्रकतिले पनि गरिबी, भोकमरी, अनिकाल, अशिक्षा तथा विपन्नता व्याप्त रहेकै क्षेत्रमा लगातार प्रहार गर्दाेरहेछ । मानव सूचकांकमा पछाडि रहेको सिन्धुपाल्चोकलाई विगतमा राज्यले पनि पछाडि पारेकै हो । विकासमा हेपेकै हो । हाल विस्तारै माथि उठ्ने प्रयासमा छ ।
सडक सञ्जालले गाउँहरु जोडिन थालेका छन् । अब त केही होला भन्ने बेला जिल्लाका प्राय: सबै गाउँ र बस्तीमा बाढी र पहिरो हेलिएको छ ।जसका कारण हरेक बर्खा सिन्धुबासीको बास घरभन्दा घरबाहिर हुने गरेको छ ।
सिन्धुपाल्चोकको अधिकांश भूमिमा बलौटे माटो भएकाले त्यहाँका बस्ती वर्षेनी जोखिममा पर्दै आएका छन् । बस्तीमाथिबाट आउने पहिरो र बस्ती तलको भाग खस्किँदै जाने समस्याले त्यहाँका बस्ती देशभरमै सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रिय योजना आयोगद्वारा गरिएको प्राविधिकविज्ञको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भूकम्पले थिलथिलो भएको सिन्धुपाल्चोक जिल्लामा पहिरो जाँदा यस बर्खायाममा मात्र ७० भन्दा बढीको ज्यान गएको छ । फरक-फरक मितिमा गएको ठूलो पहिरोमा परी दर्जर्नौ बेपत्ता छन् । उनीहरुको खोजी तथा उद्धार जारी छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा असार २५ अविरल वर्षासँगै पहिरो आएको थियो । यस वर्षायाममा आएको ठूलो थियो ।
जुन पहिरोले दुई जना बालबालिकासहित चार जनाको इहलिला समाप्त गरिदियो । भदौ २८ गते आइतबारसम्म तीन महिनाको अवधिमा ७० जनाको ज्यान पहिरोले लिएको छ भने सायौँको घरबार उठिबास लगाएको छ ।
भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा सिन्धुपाल्चोकमा क्षति बढी भएको विज्ञहरु बताउँछन् । विज्ञका अनुसार भिरालो र जोखिमयुक्त ठाउँमा बस्ती भएकाले क्षति धेरै भएको हो ।
‘मनसुन कम हुने समयमा बाढीपहिरोका ठूला–ठूला घटना भएका छन्। कम हुन्छ भनेको अझ बढिरहेको छ,’ विज्ञ प्रा. डा. तारानिधि भट्टराई भन्छन्, ‘सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो घटना अप्रत्याशित छ ।’
सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति
पहिरोले यो वर्ष ५१ जिल्लामा मानवीय क्षति भएको छ । हालसम्म तीन सय १५ भन्दा बढीको मृत्यु भएको छ ।एक सय १० जना बेपत्ता छन् । एक सय ६० जना घाइते छन् । घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किएका छन् । घटना भइरहेकाले धनजनको क्षतिको यकिन विवरण संकलन भइसकेको छैन । मुलुकमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ७० जनाको मृत्यु भएको छ भने ४४ जना बेपत्ता छन् । त्यसैगरी नौ जना घाइते भएका छन् ।
२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायत जिल्ला बढी प्रभावित भए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनपछि मात्रै भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अध्ययन गरियो ।
भूकम्प प्रभावित १४ जिल्लाका एक हजार एक सय तीन ठाउँको भौगर्भिक अध्ययन २०७४ सालमा गरिएको थियो । जसमा ६ सयभन्दा बढी जोखिमपूर्ण पाइएको थियो । जसमा सिन्धुपाल्चोकका मात्रै तीन सय ३७ बस्ती परेका थिए । दुई सय ९० बस्ती त स्थानान्तरण हुनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
तर, त्यो अध्ययन विस्तृत नभएको भूगर्भविद् प्रा. डा. नरेन्द्रराज खनाल बताउँछन् । ‘तत्काल अलिअलि अध्ययन गरियो। विस्तृत रूपमा अध्ययन गर्ने प्रणाली नै बनेन’, प्रा. डा. खनाल भन्छन्, ‘भूकम्पले गाउँ–गाउँमा चिराचिरा बनाएको थियो। हरेक वर्ष अध्ययन गरिनुपर्थ्यो । त्यो नगर्नुको परिणाम यो वर्ष देखियो ।’
विकासले लग्यो विनाशतर्फ
पछिल्ला वर्ष स्थानीय तहले धमाधम डोजर लगाएर बाटो खन्ने, विस्फोटक पदार्थ प्रयोग गरी विद्युतगृह बनाउने गरेकाले पहिरोको जोखिम बढेको स्थानीय समाजसेवी तथा व्यवसायी छिरिङ घिसिङ बताउँछन् । उनी भन्छन्, ‘स्थानीय तहको विकास र त्यसको भूजटिलताबीच तादात्म्य मिलेन । विकासका संरचना विपन्नमैत्री भएनन् । त्यसैले धेरै क्षति भयो ।’
थप मानवीय क्षति कम गर्न जोखिम रहेका बस्ती स्तान्तरण गर्नुपर्ने शेर्पा बताउँछन् । उनी भन्छन्, ‘जिल्लास्थित प्रकोप व्यस्थापन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका धेरै बस्तीलाई जोखिममा राखेको छ, ती बस्ती सुरक्षित स्थानमा सारेपछि मात्रै जोखिम कम हुन्छ, नत्र भने यस्ता विपत्ति धेरै भोग्नुपर्छ ।’