एजेन्सी । फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ ।
बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को जित निकालेको हो ।
बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस र नविल फेकिरले गोल गरे ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियाल म्याड्रिडलाई पछ्याइरहेको छ ।
बार्सिलोनाको २३ खेलबाट ४९ अंक छ । उति नै खेलबाट रियालको ५२ अंक छ । रियल बेटिस २८ अंक जोडेर १३औं स्थानमा छ ।
मेस्सीको ‘एसिस्ट’
मेस्सीले बार्सिलोनाका तीनवटै गोलको अवसर सृजना गरेका थिए । योसँगै उनी युरोपको शीर्ष पाँच लिगमा दोहोरो अङ्कमा गोल र एसिस्ट गर्ने दोस्रो खेलाडी बनेका छन् । मेस्सीले यो सिजन १४ गोलका साथै ११ एसिस्ट गरेका छन् । उनीअघि बोरुसिया डर्टमन्डका जेडन सान्चोले १२ गोल र १३ एसिस्ट गरेका थिए ।