एजेन्सी । फुटबल क्लब म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ ।
युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
युइएफएको क्लब लाईसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरिएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।
सिटीले उक्र निर्णयले आफू निराश भए पनि कुनै आश्चर्य भने नभएको प्रतिक्रिया दिएको छ ।
सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युइएफएले जनाएको छ । युईएफएले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युइएफएमा बुझाएको देखिएको छ ।'
अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युइएफएले लगाएको छ ।
सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो ।
दुई बर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि सिटीले कम्तीमा १ सय ७० मिलियन पाउण्ड रकम गुमाउनेछ ।