मंसिर ०६, २०८१, बिहीबार
               

मनाङ मर्स्याङदी सेमिफाइनलमा

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

कास्की । मनाङ मर्स्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो ।

मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोल नै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो ।

सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र संकटाबीचको खेलको  विजेतासँग खेल्नेछ । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा झापाका सुनिल खड्काको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले मुस्किलले पञ्च गरेर बाहिर फालेका थिए ।

नियमित समयको अन्तिम मिनेटमा मनाङका फरवार्ड विमल रानाले ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न असफल भए । खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे ।

खेलपछिको पत्रकार सम्मेलनमा पराजित टोलीका प्रशिक्षक सन्तोष गुरुङले टोलीका सरोज कार्की, अंकुर तामाङ र प्रमोद चौधरी घाइते भएकाले प्रदर्शनमा असर पुगे पनि समग्रमा खेल राम्रो रहेको प्रतिक्रिया दिए ।

मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले खेलमा जित हात पारे पनि खेलाडीको खेलबाट आफू सन्तुष्ट हुन नसकेको बताए । धरानमा खेलेको पाँच दिनपछि पोखरामा खेल्न आएकाले खेलाडीलाई अभ्यास नहुँदा  प्रदर्शन सोचेअनुसार नभएको उनको भनाइ थियो । प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार क्लब र गान्टोक सिटी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको २००औँ खेल पूरा

विसं २०५८ फागुन ७ गते क्याराभान गोल्डकपका नामबाट सहारा क्लबले प्रतियोगिता आयोजना शुरुआत गरेकामा मनाङ र झापाबीचको  खेल २००औँ बन्न पुगेको छ ।

क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता त्यसपछिका हरेक संस्करणलाई यहाँको औद्योगिक घराना हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । विसं २०५९ देखि प्रतियोगिता आहा राराको नामबाट सञ्चालन हुँदै आएको हो ।
 
यस प्रतियोगिता मोफसलको एक प्रतिष्ठित र नियमित सञ्चालन हुने प्रतियोगिताका रूपमा स्थापित भएको छ । क्लबले २००औँ खेलका अवसरमा खेलाडीलाई मायाको चिनो तथा मैदानमा बेलुन उडाएर खुशीयाली मनाएको थियो ।

प्रतियोगिताबाट बचत रकम क्लबले पोखरा–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीका बालकका लागि खर्च गर्दैै आएको अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि