मंसिर ०६, २०८१, बिहीबार
               

टेभेचले जिताए बोका जुनियर्सलाई उपाधि, विपक्षी प्रशिक्षक म्याराडोनालाई गरे किस

एजेन्सी
फागुन २६, २०७६

ADVERTISEMENT

कार्लोस टेभेचले अन्त्यतिर गोल गरेपछि बोका जुनियर्सले अर्जेन्टिनी लिग फुटबलको उपाधि जितेको छ । जिम्नासिया वाई इजरिमा ला प्लेटाविरुद्धको अन्तिम खेलमा टेभेचले निर्णायक गोल गरे । उपाधि जित्न बोका जुनियर्सका लागि कुनै हालतमा खेल जित्नुपर्ने बाध्यता थियो । 

यस जितसँगै २३ खेलबाट ४८ अंक बटुलेर बोका जुनियर्स च्याम्पियन भयो । ४७ अंक बटुलेको रिभर प्लेट दोस्रो भयो । यसअघि रिभर प्लेट एथलेटिको टुकुम्यानविरुद्ध १–१ गोलको बराबरीमा रोकिएको थियो ।

टेभेचले ७२ औं मिनेटमा २० यार्ड परबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । 

म्याराडोनालाई किस 

खेल सुरु हुनअघि टेभेचले जिम्नासियाका प्रशिक्षक डिएगो म्याराडोनालाई किस गरेका थिए । विपक्षी प्रशिक्षकलाई किस गर्नुको कारण खुलाउँदै टेभेचले भनेका छन्, ‘ म भाग्यको खोजीमा थिएँ । उनलाई किस गरेपछि भाग्य खुलेको छ ।’

म्याराडोनाको प्रशिक्षणमा टेभेचले सन् २०१० को विश्वकप खेलेका थिए । उनी म्याराडोनालाई आफ्नो आदर्श मान्छन् । धेरैले टेभेचलाई कुनै समय म्याराडोनाको वास्तविक उत्तराधिकारी समेत भनेका थिए । 

टेभेचले बोका जुनियर्सका उपाध्यक्ष तथा अर्जेन्टिनाका पूर्व मिडफिल्डर जुवान रोमन रिक्वुल्मीको पनि प्रशंशा गरेका छन् । ‘रोमनले मलाई पुरानै अवस्थामा फर्काउन ठूलो सहयोग गरेका छन् । यो सम्मानका उनी ठूलो हकदार हुन्,’ टेभेचले भने । 

उत्कृष्ट सिजन 
म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी तथा युभेन्टस्का पूर्व स्टार टेभेचले यस सिजन १७ लिग खेलमा ९ गोल गरेका छन् । टेभेचले सन् २००१ मा १६ वर्षको उमेरमा बोका जुनियर्सबाटै आफ्नो व्यवसाहिक करियर थालेका थिए ।

त्यसपछि ब्राजिली हुँदै उनी युरोपेली लिगमा जमे । सन् २०१५ मा बोका जुनियर्स फर्किएका टेभेच २०१७ मा छोटो समय चीनियाँ क्लब साङघाई सेन्हुवामा आबद्ध भए । ३६ वर्षका टेभेचको बोका जुनियर्ससँगको सम्झौत यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ । 


कस्तो लाग्यो ?

यो पनि