लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्ने सहमति गरेका छन् । यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ ।
पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले पाउने अन्य सुविधा भने बढ्ने अनुमान गरिएको छ ।
सम्झौताको सबै खाका तयार भइसकेपनि यसमा हस्ताक्षर हुन बाँकी छ । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले केही खेलाडीहरुलाई बेच्नुपर्नेछ ।
पछिल्लो समय धेरै महंगा खेलाडी पाल्नुपर्दा बार्सिलोनामाथि आर्थिक दबाब परेको छ, मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले धेरै तलब खाने केही स्टार खेलाडी बेचेर आफ्नो तलबको भार कम गर्न खोजेको छ ।
गत जुनमा मेसीको र बार्सिलोनाको सम्झौता सकिएलगत्तै पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटीलगायत क्लबहरुले मेसीमा आँखा लगाएका थिए ।
मेसीले सन् २००४ मा बार्सिलोनाबाट डेब्यु गरेका थिए । त्यसयता उनले ६ पटक बेलोन डि अर जितिसकेका छन् र धेरै किर्तिमानहरु बनाइसकेका छन् ।
मेसीले भर्खरैमात्र आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताएका थिए ।