नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्ट कनेक्सन प्रविधि क्युट (कमन युजर टर्मिनल इक्युभमेन्ट) सिस्टमको जिम्मेवारी २५ करोड बक्यौता नबुझाउने विदेशी कम्पनी ‘सिटा’ लाई नै दिने भएको छ ।
उक्त कम्पनीको सात वर्षदेखिको ठेक्का सम्झौता शनिबारदेखि सकिँदै छ । प्राधिकरणको बोर्ड बैठकबाट औपचारिक निर्णय हुनेछ । ठेक्का समयावधि नसकिँदै ७ महिनादेखि एक वर्षसम्म थप्ने तयारी छ ।
सिटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भदौसम्म बुझाउनुपर्ने जरिवानासहितको बक्यौता मात्रै २५ करोड हाराहारी छ । यो रकम नबुझाउँदै पुनः जिम्मेवारी पाएको हो ।
आजको खबर कान्तिपुर दैनिकले लेखेको छ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिलाई विमानस्थल व्यवस्थापनले बुझाएको पुस मसान्तसम्मको बक्यौता प्रतिवेदनअनुसार सिटाले त्यसबेलासम्म बुझाउनुपर्ने रकम २३ करोड ७८ लाख ५१ हजार थियो ।
विमानस्थलका अधिकारीहरूले सिटालाई बारम्बार पत्राचार भइरहेको भए पनि बक्यौता नउठेको जानकारी समितिलाई गराएका छन् ।
‘सिटाले ७ वर्षअघिको सम्झौतापत्रका छिद्रमा टेकेर तीन वर्षको म्याद थप माग गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर यसलाई विमानस्थल व्यवस्थापनले ७ महिनादेखि एक वर्षसम्मको म्याद थप्ने निर्णय गर्दै हाललाई क्युटको काम यसै कम्पनीलाई पुनः निरन्तरता दिने निर्णय गरिसकेको छ ।’
विमानस्थलका तत्कालीन महाप्रबन्धक दिनेश श्रेष्ठसँग गरिएको सम्झौता र सिटाले बुझाएको टेन्डरपत्रमा थुप्रै विषय बाझिएको स्रोतको दाबी छ ।