नाफा कमाउन नसकेको भन्दै दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो ।
समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो । चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ ।
समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउनू भनेको छ । निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन सरकारलाई दिएको छ ।
आजको अन्नपूर्णपोस्ट दैनिकका अनुसार निगमले आव ०७३/७४ मा चिनियाँ जहाज उडाएर १९ करोड ११ लाख रुपैयाँ कमाएको थियो भने यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । निगमलाई चिनियाँ जहाज उडाउँदा वार्षिक ३३ करोड ९६ लाख रुपैयाँ घाटा भएको तथ्यांकमा उल्लेख छ ।
आव ०७४/७५ मा पनि चिनियाँ जहाज उडानबाट २३ करोड १५ लाख रुपैयाँ आम्दानी गरे पनि यसको कुल खर्च ८० करोड ७७ लाख रुपैयाँ भएको छ ।
यसबाट निगमलाई उक्त आवमा ५७ करोड ६१ लाख रुपैयाँ घाटा पुगेको निगमले संसदीय समितिलाई उपलब्ध गराएको वित्तीय विवरणमा उल्लेख छ ।
निगमलाई चिनियाँ जहाज भित्रिएको पहिलो दुई आर्थिक वर्षमै ९१ करोड ५७ लाख रुपैयाँ घाटा पुगेको थियो । आव ०७५/७६ को वित्तीय विवरण भने प्राप्त भएको छैन ।