भण्डारणमा रहेको मौज्दात सकिँदै गएपछि सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । भण्डारण रित्तिँदै गएपछि देशको पुरानो मिललाई प्रयोगमा ल्याउनुको सट्टा दोस्रो मुलुकबाट चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बजारको माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएको हो । चिनी खरिद प्रक्रिया सहमतिका लागि अर्थ मन्त्रालयसँग छलफल थालिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।
मूल्य बढ्न नदिन ५० हजार मेट्रिकटन चिनी आवश्यक रहेको र यसका लागि अर्थसँग छलफल थालिएको छ,’ केसीले भनिन् ।
सरकारी स्वामित्वको साल्ट्रेडिङ कम्पनी लिमिटेडसँग लकडाउनको पाँचौं हप्तासम्म आइपुग्दा जम्मा चार हजार ९९ मेट्रिकटन मात्रै चिनीका मौज्दात बाँकी छ । देशभरका १२ वटा चिनी मिलमा ६३ हजार दुई सय ७ मेट्रिकटन चिनी बाँकी रहेको सरकारी अनुमान छ ।
नेपालमा वार्षिक चिनीको माग दुई लाख ३० हजार मेट्रिकटन रहेको चिनी उत्पादकहरूको दाबी छ । जसमध्ये एक लाख २० हजार मेट्रिकटन हाराहारी चिनी स्वदेशमै उत्पादन हुन्छ ।
सरकारी स्वमित्वको साल्ट ट्रेडिङले हाल प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ ।