दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गर्न लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी सुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी सुरु गरिएको हो ।
तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागेको हो । झोलुङगे पुल निर्माण शुरु गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिए ।
सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो ।
स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कुल ७९ लाख ९३ हजार ९९६ रुपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो ।
‘सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ’, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भन्नुभयो, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।
यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो रु २०० का दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी सुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताए ।
विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो । भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यो पटक बन्दाबन्दीले सम्भव हुन सकेन ।
आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्नाले बताए । विगतमा यो क्षेत्रमा काठेपुलमार्फत आवतजावत हुँदै आएको छ । काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो ।