बैतडी । बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको छ ।
सदरमुकाम गढी–गोठलापानी सडक समयमै स्तरोन्नति नहुँदा उक्त सडकमा हिँडडुल गर्नेलाई निकै सकस हुने गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा सडक स्तरोन्नतिका लागि ठेक्का भए पनि समयमै स्तरोन्नतिको काम नहुँदा बाटोमा हिँड्नेलाई सास्ती भएको हो । जिल्लाको मुख्य प्रशासनिक निकाय जोड्ने बाटोसमेत समयमा स्तरोन्नति नहुँदा समस्या भएको दशरथचन्द नगरपालिकामा कार्यरत नायब सुब्बा राजु विष्टले बताए । उनले भने, ‘वर्षात्मा सडक हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ ।’
प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका विभिन्न कार्यालयका कर्मचारीको दैनिक हिँड्ने बाटोको रुपमा रहेको गोठलापानी–गढी सडक समयमा स्तरोन्नति नहुँदा विकास निर्माणले सबैलाई गिज्याएको स्थानीय दिपेश शाहले बताए । १८ महिनामा सक्नुपर्ने काम तीन वर्ष हुँदासमेत पूरा नभएको हो । उनले भने, ‘छेउदेखि टुप्पोसम्म खाल्टाखुल्टीमात्रै रहेको उक्त सडकमा बढीजसो जिल्लाका महत्वपूर्ण कार्यालयका हाकिम र कर्मचारीले यात्रा गर्दछन् तर सडक भने व्यवस्थित तरिकाले कहिले पनि मर्मतसम्भार हुने सकेन ।’
सदरमुकाम क्षेत्रको सो सडक स्तरोन्नति गर्नका लागि केएस कन्सट्रक्सनले तीन करोड ८० लाख रुपैयाँको लागतमा ठेक्का पाएको भए पनि समयमा सडक स्तरोन्नति नहुँदा स्थानीयलाई समस्या भएको हो । समयमै सडक स्तरोन्नति नहुँदा जिल्ला प्रशासन, दशरथचन्द नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कामका लागि जानेलाई झन समस्या हुने गरेको छ ।
करिब १.२ किलोमिटरको सो सडक निर्माणका लागि केही व्यावहारिक समस्या र केही ठेकेदारको लापरवाहीका कारण समयमै काम सम्पन्न हुन नसकेको शहरी तथा भवन निर्माण आयोजना डोटीको फिल्ड कार्यालय बैतडीमा कार्यरत सवइञ्जिनीयर सञ्जय रेग्मीले बताए । गत असोजमै सक्नुपर्ने उक्त योजना समयमै सम्पन्न नभएपछि निर्माण कम्पनीले आगामी मङ्सिरसम्म ठेक्काको थप म्याद पाएको छ । अनुमानभन्दा बढी काम गर्नुपरेको र विवादका कारण समयमा काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले दाबी गरेको छ ।
७ मिटर सडक चौडा बनाउने भने पनि स्थानीयका घर तथा अन्य संरचना पर्दा धेरै समय काम गर्न नपाएको कम्पनीका प्रतिनिधि पदम भाटले बताए । यसअघि उक्त सडकमा मात्रै वर्षेनी नगरपालिका, तत्कालीन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भए पनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मतसम्भार नहुँदा सर्वसाधारण र सवारी चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
विसं २०७४ मा मात्रै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले सडकको मर्मतका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरी काम गरेको थियो । विसं २०६८ मा जिल्ला विकास समितिको ५० लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको उक्त सडकमा शहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौँ रुपयाँ खर्च गरिसकेको छ ।
तर, सडक व्यवस्थित तरिकाले मर्मत नहुँदा आफूलाई यात्रा गर्न निकै समस्या हुने गरेको विभिन्न कामका लागि सदरमुकाम पुग्नेले गुनासो गर्ने गरेका छन् । सडकमा भएको खाल्डाखुल्डीकै कारण उक्त सडकमा सवारी दुर्घटनासमेत हुने गरेका छन् ।