झापा । कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा संकलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६–०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० रुपैयाँ मात्र राजस्व संकलन गरेको हो ।
कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । हातहतियार इजाजतबापत ३१ हजार रुपैयाँ, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत सात हजार ६०० रुपैयाँ अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार ४५० रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०७५–०७६ को भन्दा दुई करोड ५३ लाख ३५ हजार ६४८ रुपैयाँले कमी रहेको उनले बताए । अघिल्लो वर्ष कार्यालयले ६ करोड ५६ लाख ५१ हजार २८४ रुपैयाँ राजस्व संकलन गरेको थियो । लेखापाल नेपालले आवको दोस्रो चौमासिक सुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताए ।