चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै फेरि बन्द भएका छन् । गत साउन १५ गतेदेखि खुलेका होटलहरु बुधबारबाट फेरि बन्द भएका हुन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै फेरि बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए ।
कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, ‘हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च गर्यौँ, फेरि बन्द गर्नुपर्यो ।’ रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताए । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उनको भनाइ छ ।
होटलसँगै रेष्टुराँ पनि बन्द हुन थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ । सौराहामा ११० होटल रहेका छन् ।
यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।