कर्णाली । जुम्लाको प्याजले बजार पाउन सकेको छैन । विगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसवर्ष उत्पादन गरे पनि लगानीअनुसारको भाउ पाउन नसकेको हो ।
तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए । उत्पादन राम्रै भयो । ठूलो परिमाणमा उत्पादित प्याजले भने लगानीअनुसार बजार भाउ पाउन सकेन । जसका कारण किसान मर्कामा परेका छन् ।
गत वर्षमा उत्पादित प्याज प्रतिकेजी ८० देखि एक सय ५० सम्म बेचेर मनग्य आम्दानी लिएका किसानले यस वर्ष प्रतिकेजी ३०–४० मा बिक्री गर्ने गरेका छन् ।
‘किसानले मिहिनेतअनुसारको फल प्राप्त गर्न सकेका छैनन्,’ सचिव देवकोटाले भने, ‘यसले सबै किसानलाई निरुत्साहित बनाएको छ ।’
कर्णाली प्रदेश सरकारले तलिचौरका दुई प्याज पकेट क्षेत्रका लागि आठ /आठ लाखका दरले १६ लाख बीउ, मल र औजारमा सहयोग गरेको थियो । प्रदेश सरकारको सो सहयोगमा रु एक करोडको प्याज खेती गरेका किसानले अपेक्षाकृत मूल्य पाउन सकेनन् । तलिचौरकै किसान राजबहादुर भाक्रीका अनुसार प्याज राम्रै उत्पादन भयो तर किसानले लगानी गरेबमोजिमको बजार भाउ आएन ।
‘उत्पादित प्याज केही किसानले जुम्लामा बेचे भने केहीले मुगुसम्म पुर्याए,’ उनले भने, ‘तर, पनि सबै प्याज बजारमा खपत हुन नसकेर घरमै थन्किएको छ ।’ जिल्लामा बढी परिमाण राख्न मिल्ने शीत घर नहुँदा घरमै थन्किएको उनले गुनासो गरे ।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले कोरोना महामारीको सङ्कटले प्याज कृषक मारमा परेको बताए ।
‘यो महामारीका कारण अहिले बन्दाबन्दी मात्र होइन, जुम्ला, दैलेख र सुर्खेतमा निषेधाज्ञा छ,’ प्रमुख देवकोटाले भने ।
लगानीअनुसार उत्पादनबाट बजार भाउ नपाएर प्याज थन्काएका किसान कुहिएर जाने कुराले पिरोलिएका छन् । कोरोना महामारीले भएको बन्दाबन्दी नै प्याज किसानको आम्दानीको ठूलो बाधक भएको उहाँको भनाइ थियो ।
जिल्लामा तरकारी उत्पादनको हव मानिएको तलिचौरका किसानले बन्दा काउली, गाँजर, मूला, फर्सी, भाजी, रायो, चम्सुर, काक्रा, आलु, सिमीलगायतको तरकारी बालीको खेती गर्दै आएका छन् । उत्पादित वस्तुको बजारीकरणका लागि उनीहरुले कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ तथा गैरसरकारी निकायलाई सहजीकरण गर्न अनुरोधसमेत गरिएको स्थानीय कृषक राधा न्यौपानेले जानकारी दिइन् ।